सरकारले सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको हो।
प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिअनुसार घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत गरिनेछ।
घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको र समितिले कामसमेत सुरु गरिसकेको सरकारको भनाइ छ।
सरकारले पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। साथै, कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै कानुनी र शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न आग्रह गरिएको छ।
विज्ञप्तिमा धार्मिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधिमा संलग्न नहुन, उत्तेजनात्मक अभिव्यक्ति वा भ्रामक सूचना नफैलाउन र यस्ता सूचनाबाट प्रभावित नहुन सबैमा अपिल गरिएको छ।
सरकारले नेपाली समाजको दीर्घकालीन धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, सञ्चारमाध्यम तथा आम नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ।
