देशकै सबैभन्दा व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा मंगलबार एकै दिन तीन पटक सुख्खा पहिरो खसेपछि रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।
लगातार पहिरो झर्ने क्रम नरोकिएपछि मानवीय जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै मुग्लिन बजार नजिक नारायणगढतर्फको सडकमा सुख्खा पहिरो निरन्तर झरिरहेकाले रातिको समयमा सवारी सञ्चालन गर्दा ठूलो दुर्घटनाको जोखिम रहने निष्कर्षसहित आवागमन रोकिएको जनाएको छ ।
यात्रुहरूलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै प्रशासनले सुरक्षा निकाय तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रसँग समन्वयका लागि सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ ।
यसअघि मंगलबार बिहान करिब ७ः३० बजे मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोला, मुग्लिन बजार नजिक पहिलो पटक सुख्खा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक डिभिजन भरतपुरले करिब पाँच घण्टाको प्रयासपछि पहिरो हटाएर यातायात सञ्चालनमा ल्याएको थियो ।
तर सडक सञ्चालनमा आएको डेढ घण्टा पनि नबित्दै सोही स्थानमा पुनः पहिरो खसेपछि सडक फेरि अवरुद्ध भयो । दोस्रो पटकको पहिरो हटाउन करिब एक घण्टा लाग्यो र त्यसपछि केही समयका लागि यातायात पुनः सञ्चालनमा आएको थियो ।
साँझ करिब ६ बजे पुनः तेस्रो पटक सोही स्थानमा सुख्खा पहिरो झरेपछि सडक फेरि बन्द भयो । सडक डिभिजन भरतपुरका अनुसार इन्जिनियरसहितको प्राविधिक टोली परिचालन गरी पहिरो हटाउने काम गरिएको भए पनि माथिबाट ढुंगा र माटो झर्ने क्रम नरोकिएकाले जोखिम कायमै रहेको छ ।
सडक डिभिजन भरतपुरले उक्त क्षेत्रमा अझै पनि पहिरोको जोखिम उच्च रहेकाले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । यात्रु तथा सवारी चालकलाई लेन अनुशासन पालना गर्न, सीमित गतिमा सवारी चलाउन तथा ओभरटेक नगर्नसमेत अनुरोध गरिएको छ ।
प्रशासन, सडक डिभिजन र सुरक्षा निकायले यात्रुहरूलाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमपूर्ण अवस्थामा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन् । हाल प्राविधिक टोलीले सडकको अवस्था निरन्तर निगरानी गरिरहेको छ भने जोखिम कम भएपछि मात्रै नियमित सवारी सञ्चालनको निर्णय गरिने जनाइएको छ।