सुनसरीका विभिन्न क्षेत्रमा हिंसात्मक झडप बढ्दै गएपछि मुख्य राजमार्ग र इनरुवा बजारमा कर्फ्यु

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

हिंसात्मक झडप बढ्दै गएपछि सुनसरी प्रशासनले फेरि पूर्व–पश्चिम राजमार्गको इटहरीको पकलीदेखि पश्चिम कोशी ब्यारेजसम्म अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

आइतबार सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्ज बजारमा डिजेबाजाका कारण उत्पन्न तनाव नियन्त्रणका क्रममा भएको गोली प्रहार घटनाको विरोधमा मंगलबार पनि हिंसात्मक गतिविधि नियन्त्रणमा नआएपछि प्रशासनले दिउँसो ३:३० बजेदेखि पूर्व–पश्चिम राजमार्गमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

आइतबारको घटनापछि उत्पन्न तनाव नियन्त्रणका लागि सुनसरी प्रशासनले सोमबार बिहानदेखि देवानगन्ज, हरिनगरा र भोक्राहा नरसिंह गाउँपालिकामा कर्फ्यु लगाएको थियो। थप हिंसात्मक घटना हुन नदिन सोमबार बेलुका पूर्व–पश्चिम राजमार्गखण्डमा पनि कर्फ्यु आदेश जारी गरिएको थियो। तर, अवस्था सामान्य बन्दै गएपछि मंगलबार बिहानदेखि प्रशासनले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको थियो।

तर, मंगलबार दिउँसो कर्फ्यु हटेको मौका छोपेर विभिन्न समूहले भान्टाबारी र लौकही क्षेत्रमा घर तथा पसलमा तोडफोड र आगजनी गर्न थालेपछि सुनसरी प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि पुनः कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरी अर्यालले जानकारी दिएका छन्।

सिडिओ अर्यालका अनुसार कर्फ्यु अवधिमा सुनसरी जिल्लाभित्र पर्ने महेन्द्र राजमार्गको तोकिएको क्षेत्रमा कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नालगायतका गतिविधि गर्न पाउनेछैनन्। जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ।

आइतबार राति कप्तानगन्जमा भएको गोली प्रहार घटनाको विरोधमा मंगलबार पनि उग्र प्रदर्शन भएपछि देवानगन्ज, इनरुवालगायतका क्षेत्र तनावग्रस्त बनेका छन्। थप हिंसा भड्किन नदिन सशस्त्र प्रहरीदेखि नेपाली सेनासम्म परिचालन गरिएको छ।

घटनाको विरोधमा मोरङको विराटनगरमा पनि प्रदर्शन भएको छ। मंगलबार बिहानैदेखि विराटनगर बजार बन्द रहेको छ।

आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका– ३ स्थित कप्तानगन्ज बजारमा बोलबम यात्राको तयारीका लागि डिजेबाजा बजाएर नाचगान गर्ने क्रममा स्थानीय दुई समूहबिच झडप भएको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एजनाको मृत्यु भएको थियो भने नौजना गम्भीर घाइते भएका थिए। उक्त घटनामा १४ जना प्रहरी पनि घाइते भएका थिए।

सुझावित समाचार