सर्लाहीको बागमती नगरपालिका– ५, टेकानीस्थित ससुरालीमा श्रीमतीमाथि कुटपिट गरी साडीको पासो लगाएर हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनकौल गाउँपालिका– १, शेखौनाका २१ वर्षीय वसन्ता बैठा धोबी रहेका छन्। प्रहरीले जनाएअनुसार सोमबार राति करिब ८ बजे उनले आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीमाथि कुटपिट गरी साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेका थिए।
घटनाका वेला त्यहाँ उपस्थित १० वर्षीया कुसुम कुमारीले घटना देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन्। आफन्तले समयमै पासो खोलेर चिन्ता देवीको उद्धार गरेका थिए।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरी टोलीले घाइतेलाई बागमती मोडेल अस्पताल, कर्मैयामा पुर्याएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज रिफर गरिएकी उनलाई त्यसपछि रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ।
घटनामा संलग्न वसन्ता बैठा धोबीलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।