जापानको आइची र नागाया सहरमा हुने २०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागी हुने नेपाली महिला भलिबल टोलीको प्रशिक्षण निरन्तर चलिरहेको छ । निरुता ठगुन्नाको कप्तानीमा नेपाली टोली घरेलु कोटमा सम्पन्न काभा महिला च्याम्पियनसिपलगत्तै एसियाडको तयारीमा व्यस्त भएको हो । मुख्य प्रशिक्षक जगदीश भट्ट र सहायक प्रशिक्षक भरत यादवले नेपाली टोलीलाई अभ्यास गराइरहेका छन् ।
मुख्य प्रशिक्षक भट्ट अहिले पाकिस्तानमा चलिरहेको पुरुष काभा च्याम्पियनसिप प्रतियोगितामा नेपाली टोलीका साथमा छन् । उनको अनुपस्थितिमा सहायक प्रशिक्षक यादवले महिला खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । २०औँ एसियाड आगामी १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म हुनेछ । ४१ विधाका खेल हुने प्रतियोगितामा एसियाभरबाट १५ हजार खेलाडी सहभागी हुनेछन् । नेपालले पनि एसियाडमा विभिन्न खेलमा भाग लिनेछ ।
महिला भलिबल टोली लगातार दोस्रोपटक एसियाडमा सहभागिता जनाउन लागेको हो । सन् २०२३ चीनको हाङझाउमा भएको १९औँ संस्करणको एसियाडमा महिला टोलीले दक्षिण कोरिया र भियतनामसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल दुवै प्रतिद्वन्द्वीसँग सोझो सेटमा पराजित भएको थियो ।
यसपटक नेपाल कठिन समूहमा छ । समूह ‘ए’मा नेपालले बलियो टोली जापान र इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यो समूहमा सबैभन्दा बलियो टोली जापान हो । जापान अहिले विश्व वरीयताको छैटौँ स्थानमा छ । एसियाडमा जापानलाई स्वर्ण पदकको दाबेदार राष्ट्रका रूपमा लिइएको छ । इन्डोनेसियाले वरीयता पाएको छैन । तर, नेपालले काभाबाटै वरीयता प्राप्त गरेको टोली हो । नेपाल अहिले ६९औँ स्थानमा रहेको छ ।
योपटक नेपाली पुरुष भलिबल टोलीको सहभागिता रहने छैन । यसपटक महिला भलिबलमा १४ राष्ट्रको सहभागिता छ । त्यसलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘बी’मा साबिक विजेता चीनसहित काजकिस्तान र फिलिपिन्स छन् । समूह ‘सी’मा हाङझाउमा कांस्य जितेको थाइल्यान्डसहित चाइनिज ताइपेई, किर्गिस्तान र मंगोलिया रहेका छन् । समूह ‘डी’मा भियतनाम, दक्षिण कोरिया, हङकङ र कतार छन् ।
आरती र लक्ष्मीको ‘कमब्याक’
काभा च्याम्पियनसिप खेल्न वञ्चित भएका स्पाइकर आरती सुवेदी र लक्ष्मी चन्दले राष्ट्रिय महिला टोलीमा कमब्याक गरेका छन् । प्रशिक्षक भट्टले दुवै खेलाडीलाई समेट्दै एसियाड खेल्ने १२ खेलाडीको सूची ओलम्पिक कमिटीलाई बुझाएका छन् । एनओसीमा बुझाइएको सूचीअनुसार कप्तानी जिम्मेवारी निरुतालाई नै दिइएको छ । अनुभवी खेलाडी सुमित्रा रेग्मी, उषा भण्डारी, रिमा कुँवर, सलिना श्रेष्ठ र सेटर प्रगति नाथले निरन्तरता पाएका छन् । काभामा डेब्यु गरेका मीना सुनार, वसन्ती साउद, सुनिता क्षेत्री, सलिना बुढामगरले पनि निरन्तरता पाएका छन् । यस्तै, काभा खेलेकी शान्ति तामाङ, एलिशा मानन्धर, कामना विष्ट र जसना महतो भने एसियन गेम्समा स्थान बनाउन सकेनन् । टिममा म्यानेजरको जिम्मेवारी राजकुमार गुरुङले पाएका छन् ।