कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आठ वर्ष पूरा भएको छ । भीमदत्त नगरपालिका– २ उल्टाखामकी पन्तको हत्या कसले गरेको हो भन्ने अझै पत्ता लागेको छैन । १० साउन ०७५ मा घरबाट साथी रोशनी बमको घरमा होमवर्क गर्छु भन्दै हिँडेकी निर्मलाको भोलिपल्ट ११ साउनमा उखुबारीमा शव फेला परेको थियो ।
निर्मलाको हत्या भएको दुई हजार ९२० दिन पूरा हुँदासमेत प्रहरी वास्तविक बलात्कारी र हत्यारा पत्ता लगाउन असफल भएको छ । देशमा तीनै तहमा नयाँ जनप्रतिनिधि आए, प्रदेश र संघमा सरकार फेरिएकाफेरियै छन् । तर, न्यायको पर्खाइमा रहेको निर्मलाको परिवारमा निराशाबाहेक केही हात लागेको छैन ।
यसबिचमा देशमा पाँच प्रधानमन्त्री, सात गृहमन्त्री, आठ आइजिपी, १२ डिआइजी, ११ सिडियो, ११ एसपी, चार मुख्यमन्त्री परिवर्तन भए पनि मुख्य अभियुक्तको सुइँको पाउन नसक्नुलाई प्रहरीको चरम असफलता मानिएको छ ।
निर्मलाको हत्यापछि केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, सुशीला कार्की, बालेन्द्र शाह बालेन प्रधानमन्त्री बने । घटना हुँदा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्ट, थिए, त्यसपछि क्रमशः राजेन्द्रसिंह रावल, दीर्घ सोडारी, हाल कमलबहादुर शाह छन् । भीमदत्त नगरप्रमुख सुरेन्द्र विष्ट, हाल निर्मलाकै वडाका पदम बोगटी पालिका प्रमुख छन्, निर्मलाकै गृह वडामा हाल उत्तम भट्ट वडाध्यक्ष छन्, तर उनको परिवारले न्याय पाएको छैन ।
हाल एसएसपी कृष्ण पंगेनी नेतृत्वमा छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाइएको छ । निर्मलाको हत्यापछि भीमदत्त नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकारले क्रमशः ३, ५ र १० लाख रुपैयाँ पन्त परिवारलाई राहत दिएको थियो । घटनाको अनुसन्धानका लागि हालसम्म झन्डै ३३ लाखभन्दा बढी खर्च भएको अधिकारीले बताएका छन् । ६ समिति गठन हुँदासमेत उपलब्धि शून्य छ ।
कञ्चनपुरकी महिला अधिकारकर्मी शारदा चन्दले आठ वर्षसम्म पनि निर्मलाका हत्यारा पक्राउ नपर्नु दुःखद भएको बताइन् । उनले जिल्लाकै गृहमन्त्री हुँदा पनि न्याय नपाएकी निर्मलाले अब बाह्य जिल्लाका गृहमन्त्रीबाट आशा गर्न नसकिने दुःखेसो पोखिन् । अधिकारकर्मी माया नेगीले निर्मलाले न्याय पाउनुपर्ने बताइन् ।
कञ्चनपुरकी महिला अगुवा भुवन कुँवरले निर्मलाको बलात्कारपछि हत्या भएको आठ वर्ष पूरा हुँदासम्म बलात्कारी पत्ता नलाग्नुमा सरकारको कमजोरी भएको बताइन् । निर्मलालाई न्याय दिनलाउनसमेत गृहमन्त्रीले गम्भीर हुनुपर्ने उनको सुझाव छ ।
निर्मलाको न्यायका लागि भन्दै आन्दोलनमा होमिएका घाइते सुरेन्द्र देउवाले आफूले अहिलेसम्म राहत नपाएको दुःखेसो पोखे । ‘निर्मलाको न्यायका लागि आन्दोलनमा होमिएँ, म पनि त्यही आन्दोलनको घाइते हुँ, तर सरकारले मलाई हेरेन, यसबिचमा थुप्रै गृहमन्त्री फेरिए, अहिलेको सरकारले न्याय गर्छ कि भन्ने आश छ,’ उनले भने । नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीले आठ वर्ष बितिसक्दा पनि निर्मलाका हत्यारा सार्वजनिक नहुनु दुःखद भएको बताइन् । उनले गृहनगरकै गृहमन्त्री रमेश लेखक हुँदा पनि न्याय नपाएको बताउँदै अरूबाट आशा मरेको बताइन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्याकाण्डको अनुसन्धान निरन्तर जारी रहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर रावतले हत्याकाण्डको अनुसन्धान निरन्तर भइरहेको बताए । उनका अनुसार हालसम्म ६५६ बढी व्यक्तिमाथि अनुसन्धान भएको छ । ‘५९ जनासँग कागज गराएर अनुसन्धान गरेका छौँ,’ उनले भने, ‘केहीमाथि अहिले अनुसन्धान जारी छ ।’ १६४ जनाको डिएनए परीक्षण गरेरै अनुसन्धान गरिएको उनले बताए ।
निर्मलाकी आमा दुर्गादेवी पन्त भन्छिन्–अब त न्यायको आसै मरिसक्यो
उति वेला घरमा अधिकारकर्मी, नेता, प्रहरी, पत्रकार लस्करका लस्कर आउँथे, हिजोआज कोही आउँदैनन्, केही सोध्दा पनि सोध्दैनन् । मैले त न्याय पाउने आसै मारिसकेकी छु । तत्कालीन गृहमन्त्री रमेश लेखकले चाहेको भए छोरीका हत्यारा पत्ता लगाइसक्थे, तर उनले गरेनन् । सत्ताबाहिर हुँदा न्यायका कुरा सत्तामा जाँदा सबै उस्तै रहेछन्, अब त आसै मरिसक्यो ।