कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषयलाई लिएर नेकपा (एमाले)भित्रै विवाद चर्किएको छ। पार्टी अध्यक्ष केपी ओलीले सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको चर्चा भइरहेका वेला वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने पद नछाड्ने अडान लिएका छन्।
मुख्यमन्त्री कार्कीले केन्द्रमा एमाले र नेकपाबिच सत्तासहकार्यबारे आफूलाई कुनै औपचारिक जानकारी वा छलफल नभएको भन्दै तत्काल राजीनामा नदिने निकटस्थ नेताहरूलाई बताएका छन्।
स्रोतका अनुसार कार्कीले ‘पार्टी सचिवालयबाट कुनै निर्णय भएको छैन। अध्यक्षले व्यक्तिगत रूपमा भनेकै आधारमा मैले राजीनामा दिन मिल्दैन’ भन्ने धारणा राखेका छन्। उनले वर्तमान सरकारलाई निरन्तरता दिने संकेत पनि गरेका छन्।
एमालेभित्र अध्यक्ष ओली र मुख्यमन्त्री कार्कीबिच राजनीतिक दूरी बढेको बताइन्छ। पार्टीका केही सांसदका अनुसार कार्की पछिल्लो समय अध्यक्ष ओलीभन्दा महासचिव शंकर पोखरेलनिकट समूहमा सक्रिय छन्। यही कारण ओलीले कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेको चर्चा छ।
यद्यपि, मुख्यमन्त्री परिवर्तनबारे एमाले सचिवालयले हालसम्म कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन। कोशी प्रदेशको नेतृत्व परिवर्तनबारे अन्तिम निर्णय पार्टीको औपचारिक बैठक र केन्द्रको सत्तासमीकरणले निर्धारण गर्ने अपेक्षा गरिएको छ।