एउटै भान्सामा पाक्छ २१ विद्यालयका ३३ सय बालबालिकाको दिवाखाजा

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण
एउटै भान्सामा पाक्छ २१ विद्यालयका ३३ सय बालबालिकाको दिवाखाजा

कैलालीको धनगढी उपमहानगरपालिका– ७, मनेहरामा रहेको एकीकृत भान्साघर

कैलालीको धनगढी उपमहानगरपालिका– ७, मनेहरामा रहेको एकीकृत भान्साघरका कर्मचारी बिहान ४ नबज्दै खाजा पकाउने तयारी थाल्छन् । प्रायः बिहान करिब ७ बजेसम्म खाजा तयार भइसक्छ । तयार भएको खाजा ‘कन्टेनर’मा ‘प्याक’ पारेर त्यतिवेलै गाडीमार्फत विद्यालयमा पठाइन्छ ।

एकीकृत भान्साघरमा कार्यरत १० जना कर्मचारीले यसरी नै हरेक दिन तीन हजार तीन सय बालबालिकाका लागि दिवाखाजा तयार गर्छन् । उपमहानगरभित्रका २१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोषणयुक्त दिवाखाजा तयार पारी वितरण गर्न गत १ साउनबाट एकीकृत भान्साघर सञ्चालनमा ल्याइएको हो ।

भान्साघरमा धनगढीको वडा नम्बर १ देखि ८ सम्मका ११ वटा आधारभूत र १० वटा माध्यमिक तहका विद्यालयमा अध्ययनरत करिब तीन हजार तीन सय बालबालिकाका लागि दिवाखाजा तयार गरिन्छ । तयार भएको खाजा ‘प्याक’ गरेपछि दुईवटा गाडीमार्फत विद्यालयमा पुर्याउने गरिएको एकीकृत भान्साघरका खाद्य प्राविधिक शेखर जोशीले जानकारी दिए ।

उनका अनुसार दिवाखाजामा दिनैपिच्छे खिर, खिचडी, भेज बिर्यानीलगायत पाँच प्रकारका परिकार बनाउने गरिएको छ । हरेक दिन बिहान विद्यालयले दिवाखाजा खाने विद्यार्थी संख्या उपस्थितिको सूचना भान्साघरलाई दिन्छन् । त्यही संख्यामा विद्यालयलाई पठाइने खाजाको मात्रा तय गरिन्छ । ‘उपस्थितिका आधारमा कहिलेकाहीँ विद्यार्थी संख्या तलमाथि हुन्छ, तर औसतमा तीन हजार तीन सय विद्यार्थीलाई दिवाखाजा बनाएर वितरण गरिरहेका छौँ,’ खाद्य प्राविधिक जोशीले भने ।

हिजोआज विद्यालयहरू बिहान सञ्चालन भइरहेकाले उज्यालो नहुँदै दिवाखाजाको तयारीमा जुट्ने गरेको उनले बताए ।एकीकृत भान्साघर सञ्चालनमा ल्याइएपछि बालबालिकाले पोषणयुक्त खाजा पाउनुका साथै विद्यालयमा दिवाखाजा बनाउने झन्झट पनि हटेको शिक्षकहरू बताउँछन् ।

धनगढी बोराडाँडीमा रहेको त्रिभुवन माविमा अध्ययनरत पाँच सय चारजना विद्यार्थीका लागि एकीकृत भान्साघरबाट अहिले दिवाखाजा जाने गरेको छ । विद्यालयका प्रधानाध्यापक सीताराम अवस्थीले एकीकृत भान्साघरबाट दिवाखाजा आउन थालेपछि दिवाखाजा व्यवस्थापनमा केही सहज भएको बताए । दातृ निकाय र सामाजिक संस्थाको सहयोगमा धनगढी उपमहानगरले एकीकृत भान्साघर सञ्चालनमा ल्याएको हो ।

विद्यार्थीलाई पोषणयुक्त खाजा खुवाउने र विद्यालयमा दिवाखाजा बनाउने झन्झट अन्त्य गर्ने उद्देश्यले एकीकृत भान्साघरको थालनी गरिएको उपमहानगरका शिक्षा अधिकृत केशव खत्रीले बताए । सामुदायिक विद्यालयहरूले दिवाखाजा व्यवस्थापन गर्न कहीँ भान्सा नहुने, कहीँ भाँडाकुँडा नहुने, कहीँ भान्से नहुनेजस्ता समस्या भोग्दै आएकोमा एकीकृत भान्साघरको अवधारणाले दिवाखाजा व्यवस्थापन गर्न सहज भएको उनले बताए ।

मनेहरास्थित समायोजन भएको एक विद्यालयको भवनमा एकीकृत भान्साघर सञ्चालनमा ल्याइएको हो । धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले भवन मर्मत, भाँडाकुँडालगायत सामान खरिद, गाडी खरिद, विद्युत् जडान गरी दुई करोड ४५ लाख ३३ हजार रुपैयाँको लगानीमा एकीकृत भान्साघर सञ्चालनमा ल्याइएको जानकारी दिए । त्यसमध्ये विश्व खाद्य कार्यक्रमले भान्साघरमा ८६ लाख रुपैयाँको लागतमा उपकरण जडान गरिदिएको उपमहानगरले जनाएको छ ।

एकीकृत भान्साघर सञ्चालनले पोषणयुक्त दिवाखाजामार्फत सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा सुधार हुनुका साथै यसले बिचमै विद्यालय छाड्ने दर घट्ने अपेक्षा गरिएको नगर प्रमुख हमालले बताए । दिवाखाजाको व्यवस्थापन सामुदायिक विद्यालयमा समस्याका रूपमा रहेकाले आगामी वर्ष नगरका अन्य वडामा पनि एकीकृत भान्साघरको अवधारणा विस्तार गरिने उनको भनाइ छ । एकीकृत भान्सारघर फुड फर लाइफ नामक सामाजिक संस्थाले सञ्चालन गरिरहेको छ । 

धनगढी उपमहानगरपालिका प्रमुखगोपाल हमाल भन्छन्– एकीकृत भान्साघर सञ्चालनले पोषणयुक्त दिवाखाजामार्फत सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा सुधार हुनुका साथै यसले बिचमै विद्यालय छाड्ने दर घट्ने अपेक्षा गरिएको छ । 

सुझावित समाचार