आइफोनका लागि साथीहरूबाटै हत्या, १७ वर्षीय किशोरको शव नाै दिनपछि फेला
बागलुङको बडिगाडमा आफ्नै साथीहरूबाट १७ वर्षीय किशोरको हत्या भएको छ। बडिगाड गाउँपालिका– १ का बोमबहादुर थापाका छोरा लजिन थापाको आफ्नै साथीहरूले मुक्का र ढुंगा प्रहार गरी हत्या गरेको रहस्य खुलेको हो। प्रहरीले घटनाको नाै दिनपछि मात्र मृतकको शव फेला पारेको छ।
साउन १ गते छिमेकी साथी असिम वनको जन्मदिन मनाउने भन्दै बोलाएका साथीहरूले आइफोनको चक्करमा रातको समयमा रक्सी सेवन गरेको र राति अबेर भएपछि घर पुर्याइदिने भन्दै एकान्त स्थानमा पुर्याई आइफोन खोसेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। मुक्का प्रहारबाट बेहोस भएका थापालाई ढुंगामुढाले हानेर हत्या गरेको र साथमा रहेको आइफोन लुटेको पक्राउ परेकाहरूले बयान दिएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए।
एमबिएसको प्रश्नपत्र ‘लिक’प्रकरणः कैलालीका सिंह पक्राउ
त्रिभुवन विश्वबिद्यालयद्वारा सञ्चालित एमबीएसको प्रश्नपत्र ‘लिक’ गरेको घटनामा कैलाली घर भएका ३३ वर्षिय संदीप सिंह पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनलाई पक्राउ गरेको हो ।
उनीविरुद्ध शिक्षा ऐनअन्र्तगत कारबाही हुने सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए। त्यसमा संलग्न थप व्यक्तिको खोजी भइरहेको सिआइबीले जनाएको छ।
काठमाडौंमा दैनिक ३० अपराधका मुद्दा दर्ता : महाराजगन्ज क्षेत्रमा धेरै अपराध, दरबारमार्गमा कम
काठमाडौं उपत्यकामा औसतमा दैनिक ३० वटा अपराधका मुद्दा प्रहरीमा दर्ता हुने गरेका छन्। गत आर्थिक वर्षमा ११ हजार ७८ वटा मुद्दा दर्ता भएकामा आठ हजार ५८१ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार सबैभन्दा धेरै बैंकिङ कसुरका चार हजार ४७१ मुद्दा दर्ता भएका छन्। त्यसपछि अभद्र व्यवहारका एक हजार ७०२, चोरीसम्बन्धी एक हजार ८९, लागुऔषधका ६७० र ठगीसम्बन्धी ६३८ वटा मुद्दा रहेका छन्।
एक वर्षको अवधिमा प्रहरीले दुई हजार ४०७ जना फरार अपराधीलाई पक्राउ गरी अदालतमा पेस गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षमा १२ हजार ९१५ मुद्दा दर्ता भएकामा गत वर्ष यो संख्या घटेर ११ हजार ७८ मा सीमित भएको छ।
चार प्रदेशमा एमाले–नेकपाको बहुमत नपुग्ने देखिएपछि कांग्रेसले पनि नयाँ समीकरणको प्रयास गर्ने
एमाले र नेकपाको सम्भावित गठबन्धनले चार प्रदेशमा बहुमत नपुग्ने अवस्था देखिएपछि नेपाली कांग्रेसले दुवै दलबाहेकको वैकल्पिक सत्तासमीकरणबारे छलफल अघि बढाउने तयारी गरेको छ।
कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेहीले लोकतन्त्रका लागि बलियो प्रतिपक्ष आवश्यक रहेको बताउँदै एमाले–नेकपाको सरकार गठनप्रति पार्टीको आपत्ति नभएको स्पष्ट पारे। उनले भने, 'प्रदेशको नेतृत्व कसले गर्छ भन्ने मुख्य विषय होइन। मुख्य तीन दल एउटै सरकारमा हुनु हुँदैन, बलियो प्रतिपक्ष हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।'
नुहाउने क्रममा इन्टेकमा टाउको अड्किँदा बालकको मृत्यु
बर्दियामा नुहाउने क्रममा कुलोको इन्टेकमा टाउको अड्किँदा एक बालकको मृत्यु भएको छ। राजापुर नगरपालिका–५, चितैनपुरका १५ वर्षीय पूजन परियारको मृत्यु भएको हो।
आइतबार दिउँसो राजापुर नगरपालिका–५ स्थित मैला कुलोमा नुहाउने क्रममा इन्टेकमा टाउको अड्किएपछि परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए।
मृतकको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल, गुलरियामा राखिएको प्रहरीले जनाएको छ।
३०० शय्याको अस्पताल नचलाए विश्वविद्यालयको औचित्य पुष्टि हुँदैन : पूर्वस्वास्थ्यमन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले कैलालीस्थित गेटा अस्पताललाई कम्तीमा ३०० शय्या क्षमतामा सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि गेटा अस्पतालको क्षमता विस्तार पहिलो सर्त भएको बताएका हुन्।
ओलीको बहिर्गमन निसर्त, ‘ग्रेसफुल एक्जिट’को विकल्प सकियो : उषाकिरण तिम्सिना
नेकपा (एमाले)की नेतृ उषाकिरण तिम्सिनाले केपी ओलीसँग ग्रेसफुल एक्जिटको विकल्प समाप्त भइसकेको बताएकी छिन्। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा तिम्सिनाले अब ओली निसर्त बहिर्गमन हुनुपर्ने प्रस्ट पारिन्।
‘ग्रेसफुल एक्जिट सबै सकियो । अब चुपचाप, निसर्त एक्जिटको भन्दा बाटै छैन। आज सबैभन्दा बढी प्रश्न उठेको कोमाथि हो भने हाम्रो पार्टीको अध्यक्ष कमरेडमाथि हो,’ उनले भनिन्।
ओली सत्तामा हुँदा हालीमुहाली गर्न पाएका र पाउनेहरूबाहेक सबैले ओलीमाथि प्रश्न गरेको उल्लेख गर्दै तिम्सिनाले भनिन्, ‘राजनीतिमा सबैले प्रश्न गरेपछि कमरेड ओलीको बहिर्गमन निसर्त हो।’
११ करोड हिनामिना प्रकरण : इन्स्पेक्टर गुरुङविरुद्ध भ्रष्टाचार मुद्दामा पनि अनुसन्धान
सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध भ्रष्टाचार मुद्दामा पनि अनुसन्धान सुरु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि अनुसन्धान थालेको छ ।
आयोगले आइतबार विशेष अदालतमा पेस गरेकोमा थुनामा राख्न म्याद दिएको छ । उनीहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न इजलासले म्याद दिएको बिशेष अदालतकी प्रवक्ता पार्वती हितानले जानकारी दिइन्। यसअघि प्रहरीले ठगी तथा आपराधिक लाभ मुद्दामा अनुसन्धान गरिरहेको छ। सशस्त्र प्रहरीकै पत्रका आधारमा उनीहरू गत २० असारमा पक्राउ परेका थिए ।
इन्स्पेक्टर गुरुङ करिब ६ वर्ष कीर्तिपुरस्थित विद्यालयको लेखा अधिकृत भएर काम गरेकी थिइन्। विद्यालयको आम्दानीबापतको रकम कल्याण कोषमा जम्मा गर्नुपर्नेमा गैरकानुनी रूपमा निकालेर उनले साथी लामालाई दिँदै आएकी थिइन्। लामाले सो पैसा डुबाएपछि दुवैजना यसमा फसेका हुन्। लामा होटेल तथा ट्राभल एजेन्सी व्यवसायी हुन्।
लघुवित्तपीडित काठमाडौंको सडकमा [फाेटाेफिचर]
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलनले काठमाडौंमा र्याली निकालेको छ। आइतबार बल्खुबाट निस्केको र्याली शान्तिबाटिकातर्फ लागेको छ।
इरानविरुद्ध थप सैन्य आक्रमण तत्काल नबढाउने ट्रम्पको निर्णय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानविरुद्ध थप सैन्य कारबाही अघि नबढाउने निर्णय गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
द न्यूयोर्क टाइम्स, सीएनएन र एसोसिएटेड प्रेस (एपी) लगायतका सञ्चारमाध्यमका अनुसार ट्रम्प प्रशासनले हालका लागि इरानमाथि नयाँ आक्रमण नगर्ने निर्णय गरेको हो।