काठमाडौंमा दैनिक ३० अपराधका मुद्दा दर्ता : महाराजगन्ज क्षेत्रमा धेरै अपराध, दरबारमार्गमा कम

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा औसतमा दैनिक ३० वटा अपराधका मुद्दा प्रहरीमा दर्ता हुने गरेका छन्। गत आर्थिक वर्षमा ११ हजार ७८ वटा मुद्दा दर्ता भएकामा आठ हजार ५८१ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार सबैभन्दा धेरै बैंकिङ कसुरका चार हजार ४७१ मुद्दा दर्ता भएका छन्। त्यसपछि अभद्र व्यवहारका एक हजार ७०२, चोरीसम्बन्धी एक हजार ८९, लागुऔषधका ६७० र ठगीसम्बन्धी ६३८ वटा मुद्दा रहेका छन्।

एक वर्षको अवधिमा प्रहरीले दुई हजार ४०७ जना फरार अपराधीलाई पक्राउ गरी अदालतमा पेस गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षमा १२ हजार ९१५ मुद्दा दर्ता भएकामा गत वर्ष यो संख्या घटेर ११ हजार ७८ मा सीमित भएको छ।

काठमाडौं प्रहरी परिसरअन्तर्गतका १४ वटा प्रहरी वृत्तमध्ये महाराजगन्जमा सबैभन्दा धेरै एक हजार ३४९ मुद्दा दर्ता भएका छन्। त्यसपछि बौद्धमा एक हजार १००, बालाजुमा ७८५, बानेश्वरमा ७७१, गौशालामा ६९३, कालीमाटीमा ६५१, लैनचौरमा ४३९, थानकोटमा ४३५, स्वयम्भूमा ४१७, जनसेवामा ४१५, कीर्तिपुरमा २६४, सिंहदरबारमा २५०, मालीगाउँमा २४५ र दरबारमार्गमा सबैभन्दा कम १४७ वटा मुद्दा दर्ता भएका छन्।

सुझावित समाचार