बागमती प्रदेश सरकारको नेतृत्व अब एमालेले गर्ने लगभग निश्चित भएको छ । शनिबार एमाले र नेकपाबिच भएको राजनीतिक सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको हो । बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएसँगै अब सबैभन्दा ठुलो चासो नयाँ मुख्यमन्त्री को बन्ने भन्नेमा केन्द्रित भएको छ ।
संसदीय दलका नेता जगन्नाथ थपलियाको संस्थागत दाबी र किरण थापाको कार्यसम्पादन तथा नेतृत्वसँगको निकटताबिचको प्रतिस्पर्धाले एमालेभित्र आन्तरिक छलफललाई तीव्र बनाएको छ । उता बहुमत सुनिश्चित गर्न राप्रपाको निर्णय पनि उत्तिकै महत्त्वपूर्ण देखिएको छ । राप्रपाको समर्थन जुटेमा एमाले नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया छिट्टै अघि बढ्ने सम्भावना बलियो छ ।
तर, राप्रपाको समर्थनको स्वरूप भने सरकारमा सहभागी हुने वा बाहिरबाट समर्थन गर्ने भने अझै टुंगो लाग्न बाँकी रहेको राप्रपा संसदीय दलका नेता उद्धव थापाको भनाइ छ । यस्तो अवस्थामा बागमती प्रदेशको सत्तासमीकरण अब एमाले नेतृत्वको आन्तरिक निर्णय र राप्रपाको अन्तिम राजनीतिक कदममा निर्भर देखिएको छ ।
एमालेबाट मुख्यमन्त्रीको दौडमा दुई अनुहार
एमाले स्रोतका अनुसार संसदीय दलका नेता जगन्नाथ थपलिया र निवर्तमान स्वास्थ्यमन्त्री किरण थापामगर मुख्यमन्त्रीका प्रमुख दाबेदारका रूपमा अगाडि आएका छन् । संसदीय दलको नेताका हैसियतले थपलियाको स्वाभाविक दाबी रहे पनि पार्टी नेतृत्वसँगको निकटता, मन्त्रीका रूपमा गरेको कार्यसम्पादन तथा संगठनभित्रको प्रभावका आधारमा किरण थापाको नाम पनि बलियो रूपमा अघि सारिएको छ ।
थपलिया संसदीय दलको नेता भएका कारण स्वाभाविक मुख्यमन्त्रीका दाबेदार हुन् । तर, पूर्वस्वास्थ्यमन्त्री थापाको पनि मुख्यमन्त्रीमा चर्चा चलेको छ । उनले स्वाभाविक रूपमा आफू नै बागमती प्रदेशको भावी मुख्यमन्त्री भएको दाबी गरेका छन् । ‘म संसदीय दलको नेता भएपछि स्वाभाविक रूपमै म भावी मुख्यमन्त्री हुँ । अरूको चर्चा गरिरहनु आवश्यक नै छैन,’ उनले भने ।
नेता थपलिया यसअघि बागमती प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री भइसकेका छन् । उनी पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहिसकेका छन् । पौडेलको संरक्षणमै उनी संसदीय दलको नेता सर्वसम्मत बनेका थिए । एमाले महाधिवेशनअघिसम्म पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट मानिएका थपलिया पछिल्लो समय अध्यक्ष ओली समूहमा खुलेर लागेका छन् । मुख्यमन्त्री बन्नकै लागि उनले राजनीतिक समूह परिवर्तन गरेको चर्चा एमालेभित्र चल्ने गरेको छ ।
उता किरण थापा एमाले सचिव महेश बस्नेतनिकट तथा अध्यक्ष ओलीका विश्वासपात्र नेताका रूपमा चिनिन्छन् । लगातार दुई कार्यकाल प्रदेश सांसद रहेका थापाले स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्दा गरेका कामका आधारमा आफूलाई मूल्यांकन गर्नुपर्ने धारणा राख्दै आएका छन् । नयाँ पत्रिकासँग कुरा गर्दै थापाले नेतृत्वले विश्वास गरे आफू बागमती प्रदेश सरकारको नेतृत्व तयार रहेको बताए ।
‘आज मात्रै एमाले र नेकपाका शीर्ष नेताहरूबिच सहमति भएको छ । त्यसअनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेले पाउने निश्चित छ । मेरो नाम पनि चर्चामा आएको छ, तर अन्तिम निर्णय पार्टीको हो,’ उनले भने, ‘नेतृत्वले जिम्मेवारी दिए सकारको नेतृत्व गर्न मात्र होइन, कुनै पनि पदमा नरही बाहिरै रहन पनि सक्छु ।’
उनले आफूभन्दा पार्टीको निर्णय सर्वोपरि हुने उल्लेख गर्दै आफू मन्त्री हुँदा गरेका कामको मूल्यांकनका आधारमा केही नेता–कार्यकर्ताले मुख्यमन्त्री बनाउनुपर्ने धारणा राखेको स्वीकार गरे । तर, पार्टीको निर्णय आफूलाई सधैँ स्वीकार्य हुने उनको भनाइ थियो । ‘हामी पार्टी पद्धतिमा चल्ने मान्छे हौँ । पार्टीले मुख्यमन्त्री बनायो भने पनि स्विकार्छु, अर्को जिम्मेवारी दियो भने पनि स्विकार्छु,’ उनले भने, ‘कुनै जिम्मेवारी नदिए पनि पार्टीको निर्णयमा मेरो पूर्ण सहमति हुन्छ ।’
पूर्ण बहुमतका लागि राप्रपाको साथ आवश्यक, अनिर्णयको बन्दी बन्न दिँदैनौँ : राप्रपा नेता थापा
एमाले–नेकपा सहमतिसँगै सरकार गठनको बाटो खुलेजस्तो देखिए पनि अंकगणित अझै सहज छैन । हाल बागमती प्रदेशसभामा ११० सदस्यीय सदनमध्ये ६ पद रिक्त रहेकाले १०४ सदस्य कायम छन्। सरकार गठनका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा कांग्रेसका ३६, एमालेका २५, नेकपाका २६, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।
एमाले र नेकपाको संयुक्त संख्या ५१ मात्रै हुने भएकाले सरकार गठनका लागि थप समर्थन आवश्यक पर्छ । एमाले नेताहरूका अनुसार अहिले राप्रपासँग पनि छलफल अघि बढाइएको छ । नेता थापाले राप्रपासँग छलफलमै रहेको बताउँदै आइतबार निर्णायक छलफल हुने दाबी गरे । ‘हामीले राप्रपासँग पनि छलफल गर्दै छौँ । बहुमत सुनिश्चित भएपछि मात्रै सरकार गठनको दाबी पेस गर्छौँ ।’
यसैबिच राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले भने पार्टीले अझै औपचारिक निर्णय नगरेको बताएका छन् । तर, उनले सरकार गठनमा डेडलक हुन नदिने संकेत गर्दै सरकार निर्माणमा अनिर्णयको अवस्था आए गाँठो फुकाउन तयार रहेको बताए ।
‘हामी अनिर्णयको बन्दी बन्ने पक्षमा छैनौँ । हामी छलफलमै छौँ,’ उनले भने, ‘केही दिनभित्र पार्टीले औपचारिक निर्णय गर्छ । सरकारमा जाने वा बाहिरबाट समर्थन गर्ने भन्ने विषयमा पनि टुंगो लगाउँछौँ ।’ उनका अनुसार सरकारमा सहभागी हुने निर्णय भए मन्त्रालय बाँडफाँट, साझा नीति तथा सहकार्यका आधारहरूमा थप छलफल हुनेछ ।