वरिष्ठ पत्रकार गोपाल गुरागाईं र वरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ पुरस्कृत भएका छन्। समाजवादी प्रेस संगठन, नेपालले गुरागाईं र श्रेष्ठलाई सम्मान गरेको हो। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा गुरागाईं र श्रेष्ठलाई पुरस्कार हस्तान्तरण गरे।
गुरागाईंलाई ‘प्रदीप नेपाल पत्रकारिता पुरस्कार’ र श्रेष्ठलाई ‘सुरेश रजक फोटो पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको हो। ‘प्रदीप नेपाल पत्रकारिता पुरस्कार’ नगद ५० हजार र ‘सुरेश रजक फोटो पत्रकारिता पुरस्कार’ नगर २५ हजारको छ।
पत्रकार गुरागाईं २०३६ सालदेखि पत्रकारितामा सक्रिय छन् भने श्रेष्ठ ४० वर्षदेखि निरन्तर फोटो पत्रकारितामा सक्रिय छन्। पुरस्कार वितरण समारोहमा पूर्वप्रधानमन्त्री नेपालले परिवर्तनको हरेक आन्दोलनमा पत्रकारले खेलेको भूमिकाको चर्चा गरे। उनले पत्रकार समाजको ऐना भएको उल्लेख गर्दै निर्भिकताको साथ अगाडि बढ्न आग्रह गरे।
समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठले पत्रकारको हकहितमा संगठन केन्द्रित रहेको र नयाँ परिस्थितिमा अझ परिष्कृत भएर अगाडि बढ्ने प्रतिबद्धता जनाए। अग्रज पत्रकारलाई सम्मान गर्न पाउँदा खुसी लागेको उनले बताए।
पुरस्कृत पत्रकार गुरागाईंले विगतका कठिन दिनहरू स्मरण गर्दै संगठनले सम्झिएकोमा धन्यवाद दिए। कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा प्रवक्ता प्रकाश ज्वाला, प्रेस सेन्टरका अध्यक्ष कमल गिरीलगायतको उपस्थिति थियो।