बुधबार १० बजेसम्मका प्रमुख १० खबर

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको ‘समता शुल्क’

सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा र स्वास्थ्यमा लगाएको ‘समता शुल्क’ फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। 

‘आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने’, बैठकका निर्णय सुनाउँदै शिक्षामन्त्री पोखरेलले भने।

ठेक्का लिएर घर बनाउने गिरी दाजुभाइको पानीट्यांकीमा निस्सासिएर मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका– ६, रजौरामा निर्माणाधीन घरको पानीट्यांकीमा परेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान माल्टा घर भई हाल तुलसीपुर– ९, दोघरनिवासी कमल गिरी र सोही ठाउँका घनश्याम गिरी रहेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार कमल ठेकेदार हुन् भने घनश्याम मिस्त्री हुन् । उनीहरू दुवैजनाले यसरी घर ठेक्का लिएर काम गर्ने गर्थे । उनीहरू दुवैजना दाजुभाइका छोराहरू हुन् ।

हस्तकला उद्योगको विकासमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

पाल हस्तकला व्यवसायी महासंघले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग पूर्ण सहकार्य गर्न तयार रहेको जनाएको छ ।

बालेन्द्र शाह (बालेन)सँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा महासंघका प्रतिनिधिहरूले वर्तमान सरकारले हस्तकला क्षेत्रलाई प्राथमिकता दिएको महसुस भएको भन्दै आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

छलफलका क्रममा बालेनले हस्तकलासम्बन्धी नीति सुधार, परम्परागत कला संरक्षण, रोजगारी सिर्जना तथा पुस्तान्तरणमार्फत सिप संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए । साथै निजी–सरकारी साझेदारी (पिपिपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्ने महासंघको प्रस्तावप्रति पनि सकारात्मक प्रतिक्रिया दिए ।

एमालेका मन्त्रीहरूले बुझाए सामूहिक राजीनामा

बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। केन्द्रमा नेपाली कांग्रेस–एमालेबिचको सत्ता सहकार्य अन्त्य भएसँगै एमालेले बागमती प्रदेश सरकारबाट पनि औपचारिक रूपमा बाहिरिने प्रक्रिया अघि बढाएको हो।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेपाली कांग्रेसको पार्टी कार्यक्रममा सहभागी हुन चितवनमा रहेकाले एमालेका मन्त्रीहरूले बुधबार संयुक्त राजीनामापत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गराएका छन्। मन्त्रीहरूको तर्फबाट कृषि, पशुपन्छी तथा वन वातावरणमन्त्री मधुसुदन पौडेलले राजीनामापत्र बुझाएका हुन्।

गणेश नेपालीको आत्मदाह घटना छानबिन गर्न न्यायिक समिति गठन

मुगुका गणेश नेपालीको आत्मदाहको घटनाबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

यस्ता छन् मन्त्रिपरिषद्का सात निर्णय

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका सात निर्णय सार्वजनिक गरिएको छ। बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेले सातवटा निर्णयहरू सुनाए।

मन्त्रिपरिषद् बैठकले विशेष अदालत र श्रम अदालतका अध्यक्ष तोक्नेदेखि मिटरब्याज, गणेश नेपालीको आत्मदाह घटना, शिक्षा र स्वास्थ्यको समता शुल्कलगायतसँग सम्बन्धित निर्णयहरू गरेको छ।

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो। 

बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता अनुपमशमशेर जबराले बताए।

पार्टी फुटे त्यसको जिम्मेवारी सभापतिले लिनुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी फुटे त्यसको जिम्मेवारी सभापति गगन थापाले लिनुपर्ने बताएका छन्। सभापतिले एकताका लागि पहल नगरेको टिप्पणी गर्दै कोइरालाले बुधबार इतरपक्षले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन्।

‘धेरै समय गुज्रिसकेको छ, कथमकदाचित सभापतिजीले छिट्टै पहल गर्नुभएन र दुर्भाग्यपूर्ण अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी सभापतिले लिनुपर्छ,’ उनले भने।

नेपाल रहने कि नरहने दोसाँधमा पुग्यो, कांग्रेसमा पूर्ण एकता आवश्यक : खड्का

कांग्रेस विभाजित भए नेपाल नै नरहने अत्यन्तै जटिल अवस्थामा देश पुगेको भन्दै कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसलाई सम्पूर्ण रूपमा एकता गर्न गम्भीर बन्न सभापति गगन थापाको ध्यानाकर्षण गराएका छन्।

बिपी स्मृति दिवसका अवसरमा इतरपक्षको प्रज्ञा भवनमा आयोजित भेलालाई सम्बोधन गर्दै खड्काले अहिलेको जटिल अवस्थामा टुक्रे एकता होइन, कांग्रेसलाई सम्पूर्ण रूपमा एकताबद्ध बनाउन सके मात्र देशको अस्तित्व जोगिन सक्ने निष्कर्ष सुनाए। 

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट

६ दिनपछि सेयर बजारमा गिरावट आएको छ। बुधबार नेप्से परिसूचक १३.९५ अंकले घटेर दुई हजार ७१२.५४ विन्दुमा कारोबार बन्द भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.१० अंकले ओरालो लागेको छ।

मंगलबार ६ अर्ब ६७ करोडभन्दा बढीको सेयर कारोबार भएकोमा बुधबार गिरावट देखिएको छ। आज एक करोड १३ लाख ६२ हजार कित्ता सेयर पाँच अर्ब १८ करोड ७४ लाख रुपैयाँबराबरमा किनबेच भएको हो।

सुझावित समाचार