फिफाले विश्वकप २०२६ को फाइनलपछि स्पेन र अर्जेन्टिनाका खेलाडीबिच भएको झडपबारे औपचारिक छानबिन सुरु गरेको छ । स्पेनसँग १–० ले पराजित भएपछि साबिक विजेता अर्जेन्टिनी खेलाडीहरू झडपमा उत्रिएका थिए । घटनामा संलग्न अर्जेन्टिनाका केही खेलाडीमाथि प्रतिबन्धमा पर्न सक्ने बिबिसीले जनाएको छ ।
‘स्पेन र अर्जेन्टिनाबिच भएको विश्वकप फाइनलको खेल प्रतिवेदनको अध्ययनपछि तथा फिफा अनुशासन संहिताको धारा ३६ अनुसार सम्भावित अनुशासन उल्लंघनको छानबिन गर्न अनुशासन तथा आचारसंहिता अभियोजक नियुक्त गरिएको छ,’ फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उपाधि रक्षा गर्न नसक्दा अमेरिकाको मेटलाइफ रंगशालामा तनावपूर्ण अवस्था सिर्जना भएको थियो । अर्जेन्टिनाका नाहुएल मोलिनाले स्पेनका कप्तान रोड्रीको पेटमा प्रहार गरेको भिडियो फुटेज सार्वजनिक भएको छ । त्यसपछि मैदानको मध्य भागमा अर्जेन्टिना र स्पेनका खेलाडीबिच झडप भएको थियो । अर्जेन्टिनाका लिएन्ड्रो परेडेसले स्पेनका एरिक ग्रार्सियाको घाँटी समातेका थिए । त्यसपछि परेडेसले ग्रासियालाई भुइँमा लडाए । झडप नियन्त्रणमा लिन रेफ्री स्लाभ्को भिन्चिचले खेल सकिए पछि पनि परेडेसलाई रातो कार्ड देखाएका थिए ।
रेफ्री स्लाभ्कोले निर्धारित ९० मिनेटका खेल सकिनलाग्दा अर्जेन्टिनाका एन्जो फर्नान्डेजलाई दोस्रो पहेँलो कार्डपछि मैदानबाट बाहिर पठाएका थिए । रेफ्री स्लाभ्कोले अर्जेन्टिनाका अन्य तीनजना खेलाडी र मुख्य प्रशिक्षक लियोनल स्कालोनीलाई पनि पहेँलो कार्ड देखाए । फिफाले यसअघि नै अर्जेन्टिना फुटबल संघ तथा खेलाडीमाथि मैदानमा राजनीतिक सन्देशसहितको व्यानर प्रदर्शनको सम्बन्धमा पनि छानबिन गरिरहेको छ ।
विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराएपछि अर्जेन्टिनाका खेलाडीले मैदानमा फकल्यान्ड हाम्रो भनी ब्यानर प्रदर्शन गरेका थिए । अर्जेन्टिनाका खेलाडीले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (फकल्यान्ड द्वीपसमूह अर्जेन्टिनाकै हो) लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । जुन समर्थकहरूले एटलान्टा रंगशालाभित्र ल्याएका थिए ।
खेलाडी प्रतिबन्धमा पर्न सक्ने
फिफाको नियमअनुसार खेलाडी वा टोलीले मैदानमा राजनीतिक सन्देश दिन मिल्दैन । नियम उल्लंघन भएको प्रमाणित हुँदा खेलाडी वा अधिकारीमाथि प्रतिबन्धसहित अनुशासनात्मक कारबाही हुन सक्ने फिफाले जनाएको छ । विश्वकप फाइनलमा झड्प गरेका अर्जेन्टिनाका मिडफिल्डर लियान्द्रो पारेदेस, डिफेन्डर नह्युएल मोलिना, रोबर्टो आयाला र थियागो अल्माडलगायत खेलाडीले स्पेनिस खेलाडीसँग झडपमा उत्रिएका थिए । उनीहरूमाथि कारबाही हुन सक्ने फिफाले जनाएको छ ।
स्पेनिस खेलाडीले उपविजेता अर्जेन्टिनी खेलाडीलाई पदक लिन जाँदा ’गार्ड अफ अनर’ दिएर सम्मान दिएका थिए । विजेता स्पेनिस टोली ट्रफी उचाल्न मञ्चमा पुग्दा अर्जेन्टिनाका खेलाडी मञ्चतर्फ पीठ फर्काएर आफ्ना समर्थकतिर उभिएका थिए । नयाँ विश्व विजेताप्रति दर्साएको अर्जेन्टिनाको यो व्यवहारलाई धेरैले खेल भावनाविपरीत भएको मानेका छन् । अर्जेन्टिनी प्रशिक्षक स्कालोनीले खेलपछि घटनालाई साम्य पार्ने प्रयास गर्दै जितमा जस्तै हारमा पनि टोली संयमित हुन नसकेको स्विकारेका थिए ।
यसअघि फिफाले स्पेनिस फुटबल महासंघका तत्कालीन अध्यक्ष लुइस रुबियालेसलाई तीन वर्षको प्रतिबन्ध र सन् २०१४ को विश्वकपमा इटालियन डिफेन्डरलाई टोकेबापत उरुग्वेका लुइस सुआरेजलाई चार महिनाको पूर्ण प्रतिबन्ध लगाएको थियो ।