देशभर ११ सडक पूर्ण रूपमा बन्द, बिपी राजमार्गमा राति सवारी रोक

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लामा प्रमुख राजमार्ग तथा सडकहरू प्रभावित भएका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले आज बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै ११ सडक पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।

कोशी प्रदेशमा इलामको राजदुवाली क्षेत्रमा मेची राजमार्ग र खोटाङको माम्खा क्षेत्रमा मध्यपहाडी लोकमार्ग पहिरोका कारण बन्द छन्। ओखलढुंगाको भँडारे खोलामा आएको बाढीले प्रभावित सिद्धिचरण लोकमार्ग भने सञ्चालनमा आएको छ।

बागमती प्रदेशमा सिन्धुपाल्चोकको कोदारी र चारकिलो क्षेत्रमा अरनिको राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ। रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक पनि त्रिशूली नदीको कटानका कारण बन्द छ। यसैगरी, ललितपुरको टाकुचे क्षेत्रमा कान्ति लोकपथ पहिरोले अवरुद्ध भएको छ।

यसबिच, सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै काभ्रे–सिन्धुली हुँदै सञ्चालन हुने बिपी राजमार्गमा दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म तथा मकवानपुर क्षेत्रमा पर्ने कान्ति लोकपथमा साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन रोकिएको छ।

गण्डकी प्रदेशमा बागलुङ, म्याग्दी, गोरखा र स्याङ्जाका विभिन्न सडक पहिरोका कारण बन्द छन्। बागलुङको कालीगण्डकी करिडोर र ढोरपाटन–सालझन्डी सडक, म्याग्दीको बेनी–जोमसोम सडक, गोरखाको घ्याम्पेसाल–ताकुकोट सडक तथा स्याङ्जाको मिर्दी–चापाकोट सडकमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

लुम्बिनी प्रदेशमा रोल्पाको बागमारा–पाछावाङ भित्री सडक पहिरोका कारण अवरुद्ध भएको छ भने सुदूरपश्चिम प्रदेशमा दार्चुलाको महाकाली राजमार्ग पनि पहिरोका कारण बन्द रहेको छ।

प्रभावित सडकमा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट पछिल्लो अवस्था बुझ्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न यात्रु तथा सवारीचालकलाई आग्रह गरिएको छ।

सुझावित समाचार