अन्तर्राष्ट्रिय माफिया समूहले नेपालको रुट हुँदै नयाँ शैलीमा कोकिन तस्करी गर्न थालेको प्रहरीले जनाएको छ । त्यसरी तस्करी गर्न लागिएको करिब २० करोड मूल्यबराबरको चार केजीभन्दा धेरै कोकिनसहित दुई विदेशी महिला काठमाडौंमा पक्राउ परेका छन् ।
झोल कोकिनलाई सिलिकनमा मिसाई कपडाको आकार दिई कोलम्बियाबाट नेपालसम्म कोकिन ल्याइएको हो । त्यसरी लागुऔषध लिएर आएकी कोलम्बियाकी ६२ वर्षीया योनिथ गार्जेन काइजेडालाई लागुऔषध नियन्त्रण ब्युरोले ठमेलको होटेलबाट आइतबार पक्राउ गरेको हो । उनले सुटकेसभित्र फल्सबटम बनाई, ब्ल्यांकेट, म्याट, ज्याकेट, एप्रोन नेक पिलोभित्र कोकिन लुकाइएको थियो । उनीबाट चार किलो दुई सय ५८ ग्राम कोकिन बरामद भएको र जसको अवैध बजार मूल्य १५ करोडभन्दा धेरै भएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवासचन्द्र बोहराले बताए । लागुऔषध कारोबारीले एक ग्राम कोकिनको ५० हजार रुपैयाँसम्म बिक्री गर्ने गर्छन् । यद्यपि, यसको खपत नेपालमा भने न्यून हुने गरेको छ ।
कोलम्बियाबाट ल्याइएको कोकिन भारत लैजाने तयारी थियो । सो कोकिन लिन आएकी ३७ वर्षीया भारतीय युवती रेबिका पुलेलाई पनि प्रहरीले पक्राउ गरेको छ । कोलम्बियन युवती पानमा, ब्राजिल, दोहा हुँदै ३१ असारमा नेपाल आइपुगेकी हुन् । उनलाई केही दिन होटेलमै निगरानीमा राखेर ब्युरोको टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई निगरानीमै राख्दा कोकिन लिन आएकी भारतीय महिलालाई पनि पक्राउ गर्न सफल भइएको प्रहरीले जनाएको छ ।
अन्तर्राष्ट्रिय माफिया गिरोहले कोकिन तस्करीमा नेपाललाई अन्तर्राष्ट्रिय ट्रान्जिटका रूपमा प्रयोग गर्दै आएका छन् । तुलनात्मक रूपमा नेपालमा कम सजाय हुने र विमानस्थलमा चेकिङ बलियो नहुने ठानेर यसरी नेपाललाई ट्रान्जिट बनाउने गरिएको आकलन गरिएको छ । ठुलो परिमाणमा लागुऔषध कारोबार गर्नेलाई नेपालमा २५ वर्षसम्म कैद सजाय हुने प्रावधान छ भने कतिपय देशमा मृत्युदण्ड नै दिइन्छ ।