सांसदका स्वकीयको योग्यता तोकियो

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

सरकारले सांसदहरूका स्वकीय सचिवको न्यूनतम शैक्षिक योग्यता तोक्दै त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सूचनाअनुसार अब सांसदका स्वकीय सचिवको सेवा–सुविधा र योग्यता सरकारी सेवाका सम्बन्धित श्रेणीका कर्मचारीसरह हुनेछ।

सांसदले एक स्वकीय सचिव राख्न पाउँछन्, जसका लागि राजपत्र अंकित तृतीय श्रेणीसरहको योग्यता तोकिएको छ। यसैगरी, दलको प्रमुख सचेतक, सत्ता पक्षको सचेतक, विपक्षी दलको सचेतक, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक र सभापतिको स्वकीय सचिवका लागि राजपत्र अंकित द्वितीय श्रेणीसरहको योग्यता आवश्यक पर्नेछ।

प्रतिनिधिसभामा विपक्षी दलका नेता, उपसभामुख र उपाध्यक्ष, राष्ट्रिय सभामा विपक्षी दलको नेता, सत्तापक्षको नेता र सत्तापक्षको मुख्य सचेतकको स्वकीय सचिवका लागि पनि राजपत्र अंकित द्वितीय श्रेणीसरहको योग्यता चाहिनेछ।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले ३/३ जना स्वकीय राख्न पाउँछन्। उनीहरुले राजपत्र अंकित प्रथम श्रेणी, द्वितीय श्रेणी र तृतीय श्रेणीका कर्मचारीसरह योग्यता भएका एक–एकजना स्वकीय राख्न पाउने भएका हुन्।

यसअघि सांसदका स्वकीयको शैक्षिक योग्यता तोकिएको थिएन। सरकारले त्यसलाई व्यवस्थित गर्न योग्यता तोकेको हो।

सुझावित समाचार