राजीनामाको तयारीबाट बागमतीमा पछि हट्यो एमाले : तत्काल सरकार नछाड्ने

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

केन्द्रीय सत्तासमीकरण परिवर्तनसँगै बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने तयारी गरेको नेकपा एमालेले आफ्नो रणनीति परिवर्तन गरेको छ । एमाले बागमती प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारबाट नबाहिरिने र पार्टीको केन्द्रीय नेतृत्वको स्पष्ट निर्देशन आएपछि मात्रै थप निर्णय गर्ने निष्कर्ष निकालेको छ ।

यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका आफ्ना मन्त्रीलाई सामूहिक राजीनामा दिन निर्देशन दिएको थियो । आइतबार साँझ नयाँ पत्रिकासँगको कुराकानीमा संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सरकारबाट बाहिरिने निर्णयबारे जानकारी गराएको बताउँदै सोमबार राजीनामा बुझाउने बताएका थिए । तर, पछिल्लो राजनीतिक घटनाक्रमपछि एमालेले तत्काल राजीनामा नदिने निर्णय गर्दै नयाँ रणनीति अपनाएको बुझिएको छ ।

काठमाडौंको कोटेश्वरमा सोमबार बिहान बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले केन्द्रको निर्णय नआएसम्म सरकार नछाड्ने निष्कर्ष निकालेको हो । बैठकमा सहभागी बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसुदन पौडेलले अहिले सञ्चारमाध्यममा आएका राजीनामाका समाचारलाई हल्लाको संज्ञा दिँदै पार्टीको आधिकारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने स्पष्ट पारे ।

‘पार्टीको माथिल्लो निकायबाट अहिलेसम्म कुनै निर्देशन आएको छैन। निर्देशन आएपछि जे भनिन्छ, त्यही गरिन्छ। सञ्चारमाध्यममा आएका राजीनामाका समाचार केवल हल्ला मात्र हुन्,’ मन्त्री पौडेलले भने । उनका अनुसार पार्टी सचिव महेश बस्नेतसमेत सहभागी बैठकले पनि तत्काल सरकार छाड्ने निर्णय नगरेको र वर्तमान गठबन्धनलाई निरन्तरता दिने विषयमा केन्द्रमा छलफल जारी रहेको जानकारी दिएको छ ।

अहिले पनि कांग्रेससँगकै गठबन्धन

मन्त्री पौडेलले अहिलेको अवस्थामा बागमती प्रदेशमा नेपाली कांग्रेससँगको गठबन्धन औपचारिक रूपमा कायम रहेको बताए । नयाँ राजनीतिक परिस्थितिबारे शीर्ष तहमा छलफल भइरहे पनि प्रदेश तहमा कुनै आधिकारिक निर्देशन नआएको उनको भनाइ छ । उनले मन्त्रालय पुनर्संरचना, विनाविभागीयमन्त्रीको जिम्मेवारी तथा सरकारको आगामी स्वरूपबारे पनि एक–दुई दिनभित्र स्पष्ट निर्णय आउने संकेत गरे । ‘तत्कालका लागि हामी सरकारका नियमित काममै केन्द्रित हुन्छौँ । पार्टीले जे निर्णय गर्छ, त्यसैअनुसार अघि बढ्छौँ,’ उनले भने ।

दलको निष्कर्ष– संवादबाट अघि बढ्ने

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बदलिँदो राष्ट्रिय राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै हतारमा निर्णय नगर्ने निष्कर्ष निकालिएको बताए । उनका अनुसार केन्द्रको निर्देशन, अन्य राजनीतिक दलसँगको संवाद तथा विकसित राजनीतिक अवस्थाको मूल्यांकनपछि मात्रै सरकारमा रहने वा बाहिरिनेबारे निर्णय हुनेछ । ‘हरेक दिन राजनीतिक परिस्थिति बदलिरहेको छ । त्यसैले तत्काल सरकार छाड्ने निर्णय गरिएको छैन । केन्द्र र अन्य दलसँगको संवादपछि मात्रै अन्तिम निर्णय हुन्छ,’ उनले भने ।

केन्द्रीय तहमा नेपाली कांग्रेस–एमाले सत्ता सहकार्य अन्त्य भएपछि बागमती सरकारबाट एमालेका ६ मन्त्री बाहिरिने तयारीमा थिए । मन्त्रीहरूले सामूहिक राजीनामापत्र तयार गरी मन्त्रिपरिषद् बैठकपछि बुझाउने तयारी गरेका थिए । तर, अन्तिम समयमा केन्द्रबाट तत्काल राजीनामा नदिन निर्देशन आएपछि उनीहरूले राजीनामा बुझाएका थिएनन् ।

सरकारमा एमालेबाट कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी, स्वास्थ्यमन्त्री किरण थापा मगर तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठ सहभागी छन् ।
केन्द्रमा सत्तासमीकरण फेरिए पनि बागमती प्रदेशमा भने सरकारको भविष्य अझै स्पष्ट भएको छैन । कांग्रेस, एमाले र नेकपाबिच सम्भावित नयाँ राजनीतिक समीकरणबारे विभिन्न तहमा छलफल भइरहेको भए पनि कुनै औपचारिक निर्णय सार्वजनिक भएको छैन ।

यसबिच प्रदेश सरकारले मन्त्रालय संख्या १४ बाट घटाएर आठमा सीमित गरिसकेको छ। ओएनएम ‘संगठन तथा व्यवस्थापन’ प्रक्रिया पूरा नभएसम्म केही मन्त्रीलाई विनाविभागीय राखी विषयगत जिम्मेवारी दिइएको छ ।

See More On

सुझावित समाचार