लभ परेकी युवतीसँग विवाह हुनुपर्ने माग राखेर एक युवक नेपाल टेलिकमको टावरमाथि चढेका छन् । गएराति गोडैता नगरपालिका– ९, बकैनियाका २४ वर्षीय अफसर आलम टावरमा चढेका हुन् ।
सर्लाहीको मलंगवा नगरपालिका– ९ मा रहेको ८० मिटर उचाइको टावरमाथि चढेर उनले प्रेमिकासँग विवाह हुनुपर्ने माग राखेका छन् । ठाकुर थर भएकी युवतीसँग प्रेम गर्दै आएका आलम ती युवतीसँग विवाह हुनुपर्ने माग राखेर टावरमाथि चढेका हुन् ।
उनले टावरको टुप्पोबाट साथीलाई फोन गरेपछि घटना बाहिरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आलमलाई सकुशल उद्धार गर्नका लागि टेलिकम परिसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहारीले प्रयास गरिरहेको छ ।
अहिले सुरक्षाकर्मीहरू युवकसँग फोन संवादमा जुटेका छन् । उनलाई प्रेमपूर्वक तल आउनका लागि अनुरोध गरे पनि युवक तल आउन मानिरहेका छैनन् । प्रेमिकासँग विवाहको ग्यारेन्टी भएपछि मात्र तल झर्ने उनको अडान छ ।