शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

२३ जिल्लामा रेडअलर्ट, रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक

देशका विभिन्न भागमा हुन सक्ने अतिभारी वर्षा र त्यसबाट सिर्जना हुन सक्ने बाढी, पहिरो एवं डुबानको जोखिमलाई मध्यनजर गर्दै सरकारले २३ जिल्लामा रात्रिकालीन सवारीसाधन चलाउन रोक लगाएको छ।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको शनिबारको बैठकले अत्यधिक वर्षाको आकलन गरिएको जिल्लामा शनिबार रात्रिकालीन सवारीमा रोक र सडकमा भारी उपकरण तैनाथीको निर्णय गरेको हो। बैठकले परिस्थिति हेरेर जुनसुकै वेला पनि यातायात सेवा पूर्ण रूपमा बन्द गर्न सक्ने अधिकार जिल्ला सुरक्षा समितिलाई दिइएको छ। आइतबारका हकमा भने परिस्थिति हरेर निर्णय लिने भनिएको छ। प्राधिकरणको निर्देशनसँगै जिल्ला प्रशासन कार्यालयहरू रात्रिकालीन गाडी बन्द गरिएको सूचना जारी गर्न थालेका छन्।

मनसुन जोखिम बढेपछि काठमाडौं प्रशासनद्वारा सवारीसाधन र यात्रुलाई सावधानी अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मनसुनका कारण बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

कार्यालयले शनिबार यात्रा सावधानी (ट्राभल एलर्ट) जारी गर्दै जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको सम्भावना रहेको क्षेत्रलाई रेड अलर्टमा राखेको अवस्थालाई मध्यनजर गर्दै सचेत रहन आग्रह गरेको हो।

सेती नदी ठेलियो, नदी बहने सतह ठेलिँदा ३५/४० मिटरमाथिबाट बग्यो सेती

पोखरा बजारको बिच भाग भएर बहने सोती नदी ठेलिएको छ। पोखरा महानगरपालिका वडा नम्बर १५ र १७ को सीमानामा पर्ने रातोपैह्रे क्षेत्रमा गत वैशाखमा आएको सुक्खा पहिरोको कारण सेती बहने सतहको बाटोमा अवरोध भएपछि करिव ३५/४० मिटर माथिबाट पानी बगेको हो।

सेती बहने सतहमा अवरोध भएपछि नदीको करिब आधा पानी नदीको सहतबाट बगेको छ भने आधा पानी करिब ३५-४० मिटरमाथिबाट झरनाजस्तै गरी बगेको छ।

भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्गको स्थलगत अनुगमनमा

नेपाल सरकारका भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल कर्णाली राजमार्ग र कर्णाली करिडोरको स्थलगत अनुगमनमा निस्कनुभएको छ। कर्णालीको सडक र भौतिक पूर्वाधारको अवस्था अबलोकन गर्न मन्त्री लम्साल सुर्खेत–दैलेख–कालीकोट–जुम्ला–मुगु हुँदै हुम्ला जिल्लासम्म पुग्ने कार्यक्रम रहेको छ। 

कर्णाली राजमार्गको स्थलगत अनुगमनका क्रममा कालीकोट पुग्नुभएका मन्त्री लम्सालले कर्णाली राजमार्गको अनुगमनमा वर्षायाममा आएको यो समयमा आउनु कर्णाली राजमार्गको वास्तविकता बुझ्न पाएको बताए। ‘आएर जे गरे ठिक गरेजस्तो लाग्यो, वर्षामै आइयो एकदमै ठिक भयो,’ उनले भने, ‘सडकको अवस्था हेर्न पाइयो। यो अवस्थामा नागरिकहरू बस चढेर हिँडिराख्नुभएको छ।’

अविरल वर्षाले प्रमुख छ राजमार्ग अवरुद्ध

अविरल वर्षापछि देशका विभिन्न भागमा बाढी र पहिरोका घटना बढ्दै जाँदा ६ वटा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। पहिरो र बाढीका कारण सडक यातायात प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्ड, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी–ढोरपाटन सडक तथा अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा पहिरो खस्दा ती सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, बागलुङको जैमिनी नगरपालिका–८, बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा बन्द भएको छ।

साउन र भदौलाई एक लाख ३७ हजार टन रासायनिक मल आउँदै

विगतमा जस्तै यो वर्ष पनि सरकारले मागअनुसार रासायनिक मलको सहज आपूर्ति गर्न सकेको छैन । तर, मनसुसन सक्रिय भएपछि देशभरका किसानले मल अभावबिच असार मसान्तसम्म ६१.६२ प्रतिशत रोपाइँ सकाएका छन् ।

पछिल्लो समय भइरहेको नियमित मनसुनका कारण सबैभन्दा बढी धान उत्पादन हुने मधेश प्रदेशमा रोपाइँको उल्लेख्य प्रगति भएको छ । मधेशमा बिहीबारसम्म करिब ६० प्रतिशत रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । विभागका अनुसार असार मसान्तसम्म देशभर ६१.६२ प्रतिशत रोपाइँ सकिएको छ । 

सबैभन्दा बढी मुद्दाको चाप भएको उच्च अदालतमा डेढ वर्षभन्दा पुराना मुद्दा शून्य

उच्च अदालत पाटनमा १८ महिनाभन्दा पुराना मुद्दा शून्यमा झरेका छन्। आर्थिक वर्षको अन्तिममा सार्वजनिक तथ्यांकका अनुसार एक वर्षभन्दा पुराना मुद्दा संख्या पनि ३५३ थान मात्र छन्। देशभरका १८ उच्च अदालत तथा इजलासहरूमध्ये पाटनमा मात्र झन्डै एक चौथाइ मुद्दा पर्ने गरेका छन्। अभिलेखअनुसार पाटनमा पाँच हजार ६ सय ९ थान मुद्दा जिम्मेवारी सरी आएका थिए। साथै, १० हजार पाँच सय ३० नयाँ दर्ता भएकामा कुल लगत १६ हजार एक सय ३९ वटा थिए। 

संखुवासभामा आफ्नै श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या

संखुवासभाको मादीमा आफ्नै श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। शनिबार बिहान करिब ५:५० बजेकाे समयमा जिल्लाको चैनपुर नगरपालिका -७ स्थायी घर भई हाल मादी नगरपालिका-४, डाडाँगाउँमा बस्ने ५६ वर्षीय अमरबहादुर सार्कीले आफ्नै श्रीमती ४३ वर्षीय फूलमाया मुदेललाई घरायसी विवादको कारण आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले बताए।

बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने

केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी अन्त्य भएसँगै बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिने भएका छन् ।  एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको निर्देशनपछि सरकारमा रहेका एमालेका मन्त्रीहरूले पदबाट बाहिरिने निर्णय गरेका हुन्। एमाले केन्द्रको राजनीतिक निर्णयअनुसार प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुने भएकाले सरकारमा निरन्तर बस्नु उपयुक्त नहुने निष्कर्ष निकालिएको दलका नेता थपलियाले बताए । सोहीअनुसार मन्त्रीहरूलाई राजीनामाको तयारी गर्न संसदीय दलका नेता थपलियाले निर्देशन दिएका छन् ।

बर्डफ्लु नियन्त्रणपछि सदर चिडियाखाना पुनः सञ्चालन (तस्बिरसहित)

ललितपुरस्थित सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा आएको छ। काग, गिद्ध, हाँसलगायत पन्छीमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि गत असार ५ गतेदेखि बन्द गरिएको चिडियाखाना संक्रमण नियन्त्रण, सरसफाइ तथा आवश्यक व्यवस्थापन पूरा भएपछि पुनः खोलिएको हो।

चिडियाखाना प्रशासनका अनुसार वातावरणीय नमुनाको परीक्षणमा एभियन इन्फ्लुएञ्जा (बर्डफ्लु) भाइरस नदेखिएपछि सञ्चालन सुरु गरिएको हो। हाल चिडियाखाना बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मात्र खुला रहनेछ। प्रशासनले आगन्तुकलाई जनावर तथा पन्छीसँग सुरक्षित दूरी कायम गर्न र रातो रिबनले घेरिएका संक्रमित खोरनजिक अनावश्यक रूपमा नजान आग्रह गरेको छ।

सुझावित समाचार