महिला शिक्षकप्रति लक्षित गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, ‘मास्टर्नी’ चलचित्रबाट हटाउन माग

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

नेपाल शिक्षक महासंघले आगामी भदौ ५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टर्नी’को प्रचारात्मक सामग्रीका रूपमा सार्वजनिक गरिएको गीतप्रति गम्भीर आपत्ति जनाएको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा उक्त गीतमा महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव प्रयोग गरिएको भन्दै शिक्षक तथा शिक्षण पेसाको गरिमामाथि प्रहार भएको उल्लेख गरिएको छ। महासंघले सम्बन्धित पक्षलाई गीत तत्काल बन्द गर्न र चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुन सक्ने असहज परिणामप्रति चलचित्र निर्माता र सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुनेछन्।’

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत चलचित्र निर्माण पक्षलाई शिक्षक समुदायको सम्मान र मर्यादाप्रति संवेदनशील बन्न आग्रह गरिएको छ।

सुझावित समाचार