काठमाडौंको चन्द्रागिरि नगरपालिका– २, नागढुंगा चेकपोइन्टबाट प्रहरीले सात टन एक सय केजी अवैध काठको कोइला बरामद गर्दै एकजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आर्थिक वर्ष ०८२/८३ अन्तर्गत असार ३१ गते बिहान करिब ४ बजे नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१–००६ ख ८५८४ नम्बरको ट्रकलाई नागढुंगा चेकपोइन्टमा जाँच गर्ने क्रममा उक्त परिमाणको अवैध काठको कोइला फेला परेको हो। बरामद गरिएको काठको कोइलाको अनुमानित मूल्य रु. चार लाख ४१ हजार २६५ रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा बर्दिया ठाकुरबाबा नगरपालिका– ६ निवासी २६ वर्षीय राजन थारूलाई ट्रकसहित नियन्त्रणमा लिइएको छ। प्रहरीले बरामद गरिएको कोइला, ट्रक तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालय, हात्तीसार पठाएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले अवैध वनजन्य पदार्थको ओसारपसार नियन्त्रणका लागि निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाइएको जानकारी दिएका छन्।