इच्छाविपरीत लामो युद्धमा तानिँदै ट्रम्प

आन्तरिक समर्थन अभाव तथा आफ्नै अनिच्छाका कारण ट्रम्प इरानसँग लामो युद्ध चाहँदैनन्

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

हर्मुज जलमार्गमा इरानले पानीजहाजलाई निसानामा पारेको जवाफमा अमेरिकाले इरानमाथि शृंखलाबद्ध आक्रमण गरेको छ । १७ जुनदेखि लागू भएको समझदारीको यो अहिलेसम्मकै गम्भीर उल्लंघन हो र यसले युद्धविराम अन्त्यको संकेत गर्छ । ८ अप्रिलमा भएको प्रारम्भिक युद्धविरामयता पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम समाप्त भएको बताएका छन् । बढ्दो तनावले यो युद्धविराम स्थायी शान्तिमा परिणत नहुने संकेत गर्छ । अमेरिका आफ्नो इच्छाविपरीत इरानसँगको लामो युद्धमा तानिँदै छ ।

हालैका आक्रमणको शृंखला निम्त्याउने मुख्य विवादको विषय भनेको हर्मुज जलमार्गमाथि नियन्त्रण कायम गर्ने इरानको अडान हो । समझदारी पत्रमा उल्लेख भएअनुसार इरानले ६० दिनसम्म कुनै शुल्क नलिई व्यावसायिक जहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्न ‘भरपूर प्रयास’ गर्ने प्रतिबद्धता जनाएको थियो । तर, जलमार्गमा पर्ने ‘ओमानी मार्ग’ प्रयोग गर्ने जहाजलाई लिएर तत्कालै तनाव चर्कियो । यो अमेरिका समर्थित समुद्री मार्ग हो, जुन ओमानको तट हुँदै अघि बढ्छ । तर, इरान जहाजहरूले आफ्नो कडा निगरानी तथा नियन्त्रण रहने इरानी तट हुँदै जाने दोस्रो मार्ग प्रयोग गरून् भन्ने चाहन्छ ।

युद्धविराम कायम राख्न कठिन हुनुको एउटा कारण अमेरिका र इरानको क्षमतामा रहेको भिन्नता हो । दुवै पक्ष आत्मसमर्पण गर्न चाहन्नन् । सैन्य रूपमा शक्तिशाली अमेरिकासँग विशाल सैन्य क्षमता छ । तर, उसको राजनीतिक दृढता भने कमजोर छ । वासिंटन यो युद्धमा रहिरहन वा इरानको भूमिमा आफ्ना स्थलसेना उतार्न चाहँदैन । अमेरिका लामो युद्धमा आफ्नो सैन्य स्रोत–साधन खर्च गर्न वा इरानी शासनविरुद्ध आफ्नो विश्वव्यापी सैन्य प्रयास केन्द्रित गर्न चाहँदैन । तसर्थ, अमेरिकासँग सैन्य क्षमता भए पनि इरानमा सत्ता परिवर्तन गराउने वा हर्मुज जलसन्धि बलपूर्वक खुलाउने सम्भावना कमजोर छ ।

इरानी शासनको सबैभन्दा ठुलो शक्ति यसको राजनीतिक दृढता हो । यो अस्तित्व बचाइराख्न दृढ छ । यस युद्धको सुरुवातमै प्रमुख राजनीतिक नेताहरू मारिएपछि इरानी शासन अझ बढी कठोर र सैन्यवादी बनेको छ । वर्तमान इरानी शासन विचारधारामा आधारित, चलाख र निर्दयी छ । आफू नियन्त्रणको स्थितिमा रहेको र पछि नहट्ने कुरा अमेरिका र यस क्षेत्रलाई देखाउन तेहरान दृढ छ । यो उद्देश्य प्राप्त गर्न इरान ठुलो आर्थिक तथा सुरक्षा मूल्य चुकाउन पनि तयार छ । जलमार्गमा साना तथा कम लागतका ड्रोन र आक्रमणकारी डुंगा प्रयोग गरी त्यहाँ पार भइरहेका जहाजलाई धम्की दिनुले इरानको यही दृढता झल्काउँछ । इरानी शासनको मुख्य कमजोरी आर्थिक हो । यस युद्धका कारण इरानले ठुलो आर्थिक तथा सैन्य क्षति व्यहोरेको छ । हर्मुज जलसन्धिमा अमेरिकाद्वारा गरिने लामो नाकाबन्दी तथा पूर्वाधार र सैन्य अखडामाथि हुने निरन्तर हवाई आक्रमणलाई उसले थेग्न सक्नेछैन ।

अमेरिका र इरानको घरेलु परिदृश्यमा धेरै भिन्नताले दुवै पक्षलाई युद्धविराम भंग गर्न नजिक पुर्याइरहेको छ । इरानमा कट्टरपन्थीले शासन व्यवस्थाको नेतृत्व गरेका छन्, जहाँ इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी) ले राजनीतिक शक्तिमाथि अझ दृढतापूर्वक नियन्त्रण राखेको छ । अमेरिकी समकक्षीसँग कुरा गर्ने इरानी नेतालाई आइआरजिसी तत्वले राजनीतिक देशद्रोही भनेर ‘ब्रान्ड’ गर्ने जोखिम हुन सक्छ ।

सन् १९८१ मा इजिप्टका राष्ट्रपति अनवर सादात र सन् १९९५ मा इजरायलका प्रधानमन्त्री यित्ज्याक रबिनको हत्याका घटनाले देखाएझैँ यदि नेताले आफ्नै देशका कट्टरपन्थीद्वारा ‘कट्टर शत्रु’ मानिएका पक्षसँग सम्झौता गरे भने उनीहरूले आफ्नो ज्यान जोखिममा पार्न सक्छन् । यसैकारण प्रतिबन्ध फुकुवा हुँदा प्राप्त हुने आर्थिक लाभ तथा पुनर्निर्माणका लागि वाचा गरिएको ३०० अर्ब अमेरिकी डलरको कोष उपभोग गर्न आत्मसमर्पण गर्नुको साटो इरान होर्मुज जलमार्गमाथि नियन्त्रण कायम राख्न र सम्झौताहीन अडान देखाउनमा केन्द्रित छ

अर्कातर्फ, आन्तरिक समर्थन अभावका कारण ट्रम्प पूर्णस्तरको युद्धमा फर्कन चाहँदैनन् । यद्यपि, उनी अमेरिकाले आणविक मुद्दामा सम्झौता नगरी इरानसँगको द्वन्द्वबाट पछि हटेको र हर्मुजमा इरानको पूर्ण नियन्त्रण कायम देख्न नचाहने अमेरिकी पक्षबाट समेत प्रभावित छन् । ट्रम्पले सम्झौतापत्रमा उल्लिखित आर्थिक लाभका कारण इरानले सहयोग गर्ने अपेक्षा राखेका छन् । तर, सो जलमार्गमा आफ्नो प्रभुत्व जमाउने तथा यस क्षेत्रमा नियन्त्रण कायम गर्ने इरानको दृढतालाई उनले निकै कम आकलन गरेका छन् ।

पूर्णस्तरको द्वन्द्व बढाउन ट्रम्पको अनिच्छाले गर्दा फेब्रुअरी २८ को जस्तो युद्धको अवस्थामा फर्कने सम्भावना कम छ । संयम अपनाउने इरानको दृढताका कारण युद्धविराम पूर्ण रूपमा कायम रहने वा कुनै ठोस शान्ति सम्झौता हुने सम्भावना पनि देखिँदैन । सबैभन्दा सम्भावित परिदृश्य भनेको अप्रिल ८ देखि जुन १७ सम्मको पहिलो युद्धविरामको यथास्थितिमा फर्कनु हो । यो पूर्ण युद्धको अवस्थाभन्दा मुनिको तर ठोस शान्ति पनि नभएको एक अनिश्चित युद्धविराम थियो । आगामी महिनामा एक–अर्काविरुद्ध जवाफी प्रहारको क्रम जारी रहनेछ । हर्मुज जलमार्ग आंशिक रूपमा बन्द रहनेछ र त्यहाँ सुरक्षाको अवस्था अनिश्चित रहनेछ । मैले पहिले नै उल्लेख गरेझैँ यो पूर्ण युद्धविराम वा पूर्णस्तरको युद्धमा फर्कनुभन्दा पनि ‘स्थगित द्वन्द्व’सँग बढी मेल खान्छ ।

द कन्भर्सेसनबाट

(जेनाउर स्कुल अफ पब्लिक पोलिसी एन्ड गभर्मेन्टकी प्राज्ञिक निर्देशक हुन्)
 

See More On

सुझावित समाचार