चितवन राष्ट्रिय निकुञ्ज र आसपासका बस्तीमा वर्षौँदेखि आतंक मच्चाउँदै आएको कुख्यात जंगली हात्ती ‘धुर्बे’लाई स्याटेलाइट प्रविधिमा आधारित अत्याधुनिक रेडियो कलर जडान गरिएको छ । हालसम्म २५ जनाको ज्यान लिइसकेको धुर्बेलाई १० दिनसम्मको निरन्तर खोजीपछि बुधबार राति डार्ट (बेहोस बनाउने औषधि) गरी नियन्त्रणमा लिएर रेडियो कलर जडान गरिएको छ ।
यससँगै यसको गतिविधि अब वास्तविक समय (रियल टाइम)मा निगरानी गर्न सकिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार बुधबार राति करिब १०:३० बजे निकुञ्जभित्र सुकीभार पोस्टनजिक धुर्बेलाई फेला पारिएको थियो ।
वन्यजन्तु विज्ञको निगरानीमा डार्ट गरी बेहोस बनाएपछि यसको घाँटीमा स्याटेलाइट–आधारित रेडियो कलर जडान गरिएको र आक्रामक क्षमता कम गर्न दाह्रा पनि काटिएको उनले जानकारी दिए ।
निकुञ्जका अनुसार धुर्बे हात्ती साउन २१ गतेदेखि नियमित निगरानीबाट बाहिर रहेपछि विशेष खोजी अभियान सञ्चालन गरिएको थियो । लगातार १० दिनसम्म वर्षायामको प्रतिकूल मौसम, घना जंगल र बाक्लो झाडीबिच खोजी गरेपछि अन्ततः यसको अवस्थिति पत्ता लगाएर सुरक्षित रूपमा रेडियो कलर जडान गर्न सफलता मिलेको हो । स्वास्थ्य परीक्षणपछि हात्तीलाई पुनः प्राकृतिक वासस्थानमै छाडिएको निकुञ्जले जनाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार असार २० गते राति भरतपुर महानगरपालिका– २३, बेलहट्टाकी २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको धुर्बेको आक्रमणबाट मृत्यु भएपछि खोजी अभियानलाई थप तीव्र बनाइएको थियो ।
घटनापछि निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, मध्यवर्ती उपभोक्ता समिति, वडा कार्यालय तथा स्थानीय सरोकारवालासँग समन्वय गरेर धुर्बेको निरन्तर खोजी र निगरानी गरिएको थियो ।
निकुञ्जका अनुसार पछिल्ला केही दिनदेखि धुर्बे पटक–पटक मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्याइरहेको थियो । त्यसैले मानव–हात्ती द्वन्द्व न्यूनीकरणलाई प्राथमिकतामा राख्दै अत्याधुनिक प्रविधि प्रयोग गरिएको हो ।
अब रियल टाइममा हुनेछ निगरानी
रेडियो कलर जडानसँगै धुर्बेको अवस्थिति अब स्याटेलाइटमार्फत वास्तविक समयमै प्राप्त हुनेछ । निकुञ्जका अनुसार यसमा जियोफेन्सिङ प्रणालीसमेत जडान गरिएको छ । यस प्रणालीमार्फत हात्ती बस्तीनजिक पुग्नेबित्तिकै सम्बन्धित निकायले तत्काल सूचना प्राप्त गर्नेछन् ।
यसले निकुञ्ज प्रशासन, नेपाली सेना, स्थानीय तह तथा सुरक्षा निकायलाई समयमै सतर्कता अपनाउन, स्थानीय बासिन्दालाई पूर्वसूचना दिन तथा आवश्यक सुरक्षा व्यवस्था मिलाउन सहज हुने अपेक्षा गरिएको छ ।
निकुञ्जले यो प्रविधिले हात्तीको नियमित अनुगमन, बस्ती प्रवेशको पूर्वानुमान र मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
आतंकको पर्याय बनेको थियो धुर्बे
धुर्बे चितवन राष्ट्रिय निकुञ्ज र आसपासका जिल्लामा सबैभन्दा आक्रामक जंगली हात्तीका रूपमा परिचित छ । बस्तीमा प्रवेश गर्ने, खेतीबाली नष्ट गर्ने, घरमा क्षति पुर्याउने तथा मानिसमाथि आक्रमण गर्ने घटनामा यसको नाम पटक–पटक जोडिँदै आएको छ ।
निकुञ्जका तथ्यांकअनुसार धुर्बेको आक्रमणबाट हालसम्म २५ जनाले ज्यान गुमाइसकेका छन् भने ठुलो परिमाणमा धनमालको क्षति पनि भएको छ । यही कारण निकुञ्जले यसलाई विशेष निगरानीमा राख्दै आधुनिक प्रविधिको प्रयोगमार्फत मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण गर्ने रणनीति अघि बढाएको हो ।
निकुञ्जका अधिकारीहरूका अनुसार धुर्बेमा गरिएको रेडियो कलरिङ अभियान भविष्यमा अन्य जोखिमयुक्त जंगली हात्तीको व्यवस्थापनका लागि पनि नमुना कार्यक्रम बन्न सक्ने अपेक्षा गरिएको छ ।