राजनीतिक दलहरू मूल एजेन्डाभन्दा सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा केन्द्रित भए : सांसद शाही

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

नेकपा सांसद महेन्द्रबहादुर शाहीले राजनीतिक दलहरू मूल एजेन्डाभन्दा सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा केन्द्रित भएको टिप्पणी  गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले जनताको मुख्य चाहना भौतिक पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय रहेको बताउँदै  सस्तो लोकप्रियता र प्रचारमुखी  गतिविधिले देश निर्माण नभई  देशलाई गलत दिशातर्फ धकेल्ने उल्लेख गरे । 

सांसद शाहीले संसदमा एक–अर्कामाथि आरोप–प्रत्यारोप गर्ने, उग्र रूपमा गालीगलौज गर्ने प्रवृत्ति बढेको भन्दै यसले राजनीतिक संस्कारमा नकारात्मक परिवर्तन ल्याएको बताए। यस्तो अवस्था कायम रहे समाज दुर्घटनातर्फ जाने खतरा रहेको उल्लेख गरे । 

उनले पुराना दलले केही गरेनन् भनेर भाषण गर्न सजिलो भए पनि आफूहरूले के उपलब्धि हासिल गरे भन्ने जवाफ दिन कठिन भएको उल्लेख गरे। प्रतिपक्षले उठाएका विषयलाई दुस्मनीका रूपमा लिने, आलोचना सहन नसकेर प्रतिशोधको राजनीति गर्ने प्रवृत्ति सत्तापक्षमा बढेको आरोप लगाए । 

सरकारले काममार्फत जवाफ दिनुको सट्टा विभिन्न प्रचारमुखी र अपरिपक्व गतिविधिमा लागेको आरोप लगाउँदै शाहीले इतिहास प्रचारबाट नभई कामबाट बन्ने बताए। उनले इतिहासले पुराना दलका योगदानको पनि साक्षी रहेको उल्लेख गर्दै सरकारले प्रचारभन्दा परिणाममुखी काममा ध्यान दिनुपर्ने धारणा राखे।

उनले प्रधानमन्त्रीले नेपाल–भारत सीमासम्बन्धी दिएको विवादित अभिव्यक्तिबारे सरकारले संसदमा स्पष्ट धारणा प्रस्तुत गर्नुपर्ने माग पनि गरे । यस विषयमा सरकारले आधिकारिक धारणा सार्वजनिक नगरेसम्म प्रतिपक्षको विरोध जारी रहने बताएका छन्।

शाहीले राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएका विषयमा सरकार मौन बस्नु उपयुक्त नहुने उल्लेख गर्दै यस विषयमा छिटो निर्णय लिन सरकारलाई आग्रह गरे।

सुझावित समाचार