नेकपा सांसद युवराज दुलालले प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर जनतालाई आश्वस्त पार्न आग्रह गरेका छन्।
उनले सरकार गठन भएको सय दिन पूरा भइसकेकाले अब प्रधानमन्त्री संसदमा आएर सरकारका कामकारबाहीबारे स्पष्ट जवाफ दिनुपर्ने बताए। ‘सयदिने मधुमास सकियो, प्रधानमन्त्री संसदमा आउनुपर्छ र जनतालाई आश्वस्त पार्नुपर्छ,’ उनले भने।
दुलालले संसद् मन्त्रीले सांसदलाई थर्काउने थलो नभई सांसदले सरकारलाई प्रश्न गर्ने र सरकारले त्यसको जवाफ दिने सर्वोच्च लोकतान्त्रिक मञ्च भएको उल्लेख गरे। संसद् सरकारलाई जवाफदेही बनाउने, चेक एन्ड ब्यालेन्स कायम गर्ने राज्यको महत्त्वपूर्ण अंग भएको उनको भनाइ थियो।
उनले संसद् सरकारको कार्यकर्ता वा सन्तान नभई सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने धारणा राख्दै सरकारलाई आफ्नो संवैधानिक जिम्मेवारी सम्झन आग्रह गरे। ‘कसले पढ्नुपर्ने हो र कसलाई पढाउनुपर्ने हो, त्यो दिनको घामजस्तै छर्लंग छ,’ उनले भने।
सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दै दुलालले नेपाल अहिले दास युग, निरंकुश सामन्ती शासन, जहानिया राणाशासन वा हिटलर बन्ने सपना देख्ने समय नभएको टिप्पणी गरे।
उनले मुलुकमा बढ्दो महँगीप्रति सरकारको ध्यानाकर्षण गराउँदै गत वर्षको तुलनामा महँगी दोब्बर बढेको दाबी गरे। कर्मचारीको तलब बढे पनि किसान, मजदुर, स्वरोजगार, निजी क्षेत्रका श्रमिक तथा साना व्यवसायीको आय नबढेको भन्दै महँगीको सबैभन्दा ठुलो मार गरिब र श्रमिक वर्गले खेपिरहेको बताए।
दुलालले सरकार भ्रमबाट मुक्त भएर गरिबीको वास्तविक पीडा बुझ्नुपर्ने र महँगी, कालोबजारी तथा बिचौलिया तन्त्रको अन्त्य गर्दै जनतालाई तत्काल राहत दिनुपर्ने माग गरे।