जिप दुर्घटना हुँदा विद्युत् प्राधिकरणका दुईजना कर्मचारीको मृत्यु भएको छ । बा.१ञ १६५१ नम्बरको स्कारपियो जिप सोमबार राति १० बजेतिर इटहरी–धरान सडकखण्डको सेउती पुलनजिकै दुर्घटना हुँदा विद्युत् प्राधिकरण धरानका दुईजना कर्मचारीको मृत्यु भएको हो । दुर्घटनामा परेका एकजना कर्मचारी घाइते भएका छन् ।
मृत्यु हुनेमा प्राधिकरणका चालक धरान उपमहानगरपालिका– १३ का अन्दाजी ३३ वर्षीय बिर्खबहादुर राई र धरान– १६ का ४९ वर्षीय हेल्पर पदमा कार्यरत सुमन आचार्य छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई तत्काल उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याए पनि उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते भएका कर्मचारी धरान– २० का अन्दाजी ३२ वर्षीय पदम राईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। विद्युत् प्राधिकरण धरान शाखाका अनुसार दुहबी–धरान ३३ केभी लाइनमा समस्या आएपछि पेट्रोलिङ तथा मर्मतका लागि खटिएका कर्मचारीहरू सवार स्कारपियो जिप दुर्घटनामा परेको हो ।