सोमबार १० बजेसम्मका प्रमुख १० खबर

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

नागढुंगा र दक्षिणकाली नाकाबाट सवारीसाधन बाहिर जान रोक

अविरल वर्षापछि प्राकृतिक विपद्लाई मध्यनजर गरी नागढुंगा तथा फर्पिङ/दक्षिणकाली नाकाबाट सवारी बाहिर जान बन्द गरिएको छ। अर्काे सूचना नभएसम्मका लागि भन्दै नाका बन्द गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।  

सोमबारको अविरल वर्षाले राजमार्गमा पहिरो तथा ढुंगा खस्ने जोखिम भएकाले नाका बन्द गरिएको हो। अविरल वर्षापछि राजमार्गमा पहिलो जान थालेकाले पूर्वसतर्कता अपनाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए। वर्षाको समयमा राजमार्गमा विगतका वर्षमा गाडी पुरिएको घटनाबाट पाठ सिकेर बाहिर जान रोक लगाइएको मन्त्रालयले जनाएको छ। 

कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीमा स्कुटरसहित चालक बेपत्ता

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार एक स्कुटरचालक बाढीमा बेपत्ता भएका छन्। आकस्मिक आएको बाढीले स्कुटरसहित चालकलाई बगाएपछि सुरक्षा निकायले खोजी अभियान तीव्र बनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार अपराह्न करिब ३ बजेतिर कुलेखानी ड्यामनजिक रहेको सिमखोला तर्ने क्रममा स्कुटरसहित चालक बाढीमा बगेका हुन्। घटनाबारे स्थानीयबाट सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण : सजाय निर्धारणको बहस भोलिलाई ‘हेर्दाहेर्दै’मा

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई सजाय सुनाउन आज भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा रहेको छ। गत २३ असारमा जिल्ला अदालत, काठमाडौंले यससम्बन्धी चारै मुद्दामा ठहरको फैसला गरेको थियो।

३१ जना प्रतिवादी रहेको यो मुद्दामा १६ जना दोषी ठहर छन् भने सातजनाले सफाइ पाएका छन्। आठजना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको छ।

निरन्तर वर्षापछि पहिरोको जोखिम बढ्यो, नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा बन्द

लगातारको अविरल वर्षाका कारण देशकै मुख्य राजमार्गमध्ये एक नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा बन्द गरिएको छ। विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ सूचना जारी गर्दै भारी वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो गएको र थप पहिरो खस्ने उच्च जोखिम कायम रहेकाले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै पूर्ण रूपमा सवारी सञ्चालन बन्द गरिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मौसममा सुधार नआएसम्म तथा सडक सुरक्षित नभएसम्म कुनै पनि सवारी सञ्चालन गर्न नदिइने बताए। उनका अनुसार अहिलेको प्राथमिकता यात्रुको ज्यानको सुरक्षा भएकाले जोखिम मोलेर यात्रा नगर्न सबैलाई आग्रह गरिएको छ।

शंकास्पद पार्किङको भर्त्सना गर्दै रास्वपाले भन्यो– सञ्चारमाध्यमलाई मनोवैज्ञानिक दबाबमा राख्ने गतिविधि अलोकतान्त्रिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चारमाध्यमका कार्यालयबाहिर शंकास्पद रूपमा गाडी पार्क गरिएका घटनाप्रति सरकारको ध्यानाकर्षण गराएको छ। महामन्त्री विपीनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै राज्यको चौथो अंगलाई संकुचित पार्न खोज्ने कुनै पनि अवाञ्छित क्रियाकलाप रास्वपालाई स्वीकार्य नभएको प्रस्ट पारेका छन्।

‘राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्यमान्यताका ठाडो उल्लंघन हुन्,’ विज्ञप्तिमा भनिएको छ। 

विष्णु पौडेलविरुद्ध पाँचौँपटक म्याद थप

पूर्वमन्त्री एवं एमाले नेता विष्णु पौडेललाई पाँचौँपटक म्याद थप भएको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले पौडेललाई थप तीन दिन हिरासतमा राख अनुमति दिएको हो।

पौडेल सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। बिचौलिया दीपक भट्टसँग संदिग्ध कारोबार देखिएपछि उनी पक्राउ परेका हुन्।

छात्रालाई बाल यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

छात्रालाई बाल यौन दुर्व्यवहार गरेको आरोपमा पोखराको एक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१२, ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर रानाभाट रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए।

राज्य अधिनायकवादी सत्ता चलाउने प्रयासमाः गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको बताएका छन्। ४४औँ बिपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बृहत् बैठकलाई सम्बोधन गर्दै सरकारको कार्यशैलीको आलोचना गरेका हुन्। 

 बिपी कोइरालाले राणा प्रधानमन्त्रीलाई नागरिकले सत्तामाथि प्रश्न गर्ने अधिकारलाई अब कसैले रोक्न सक्दैन भनेर उसबेला दिएको जवाफको स्मरण गर्दै भने – पार्टी नेताका घर, मिडियाका कार्यालय र व्यवसायीका व्यापारिक क्षेत्रमा गाडी तेर्स्याएर नागरिकको निजी सम्पत्ति, उसको आर्जन र जीवनमाथि क्षति पुर्याउने कुनै अधिकार राज्यले राख्दैन ।’ 

राहदानी सेवामा अवरोध कायमै

बिद्युतीय राहदानी छाप्ने ठेक्का पाएका जर्मन कम्पनीले समयमा काम गर्न नसक्दा सर्वसाधणले सास्ती पाएका छन्। सोमबारदेखि राहदानीको आवेदन, छपाई र वितरण नियमित हुने बताइएपनि अझै अवरुद्ध कायमै छ।

सोमबार परराष्ट्रमन्त्री शिशिर खनालले जर्मन कम्पनीले छापेका पासपोर्ट वितरण गरेर सुरुवात गरेका थिए। तर, सम्पूर्ण रुपमा डाटा माइग्रेसनकै काम नसकिएकाले आवेदनदेखि छपाईका काममा अझै समस्या छ । सर्वसाधरणले नयाँ राहदानी तथा राहदानीको नवीकरणका लागि अनलाइन आवेदन दिन पनि सकेका छैनन्। जसले गर्दा राहदानी अत्यावश्यक भएकाहरूलाई समस्या भएको छ । यो समस्या लम्बिने अवस्था देखिएको स्रोत बताउँछ। 

नेप्से २६ सयमुनि, करिब साढे सात अर्बको कारोबार

सेयर बजारमा गिरावट आउने क्रमले सोमबार पनि निरन्तरता पाएको छ। सोमबार नेप्से ३०.६० अंकले घटेर दुई हजार ५७०.१८ विन्दुमा ओर्लिएको छ। नेप्से १.१७ प्रतिशतले घटेर पुनः २६ सयको मनोवैज्ञानिक विन्दुभन्दा तल झरेको हो।

बजार घटे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने केही सुधार देखिएको छ। सोमबार ३६८ कम्पनीका चार करोड १७ लाख २५ हजार कित्ता सेयर किनबेच हुँदा सात अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँबराबरको कारोबार भयो। शुक्रबार ६ अर्ब ८६ करोड सात लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो।

सोमबार नेप्सेका सबै १३ समूहको सूचकमा गिरावट आएको छ। व्यापार समूह सर्वाधिक २.३० प्रतिशतले घट्दा वित्त, होटेल तथा पर्यटन, जलविद्युत्, जीवन बिमा, उत्पादन तथा प्रशोधन समूह एक प्रतिशतभन्दा धेरैले गिरावट भएका छन्।

सुझावित समाचार