सेयर बजारमा गिरावट आउने क्रमले सोमबार पनि निरन्तरता पाएको छ। सोमबार नेप्से ३०.६० अंकले घटेर दुई हजार ५७०.१८ विन्दुमा ओर्लिएको छ। नेप्से १.१७ प्रतिशतले घटेर पुनः २६ सयको मनोवैज्ञानिक विन्दुभन्दा तल झरेको हो।
बजार घटे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने केही सुधार देखिएको छ। सोमबार ३६८ कम्पनीका चार करोड १७ लाख २५ हजार कित्ता सेयर किनबेच हुँदा सात अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँबराबरको कारोबार भयो। शुक्रबार ६ अर्ब ८६ करोड सात लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो।
सोमबार नेप्सेका सबै १३ समूहको सूचकमा गिरावट आएको छ। व्यापार समूह सर्वाधिक २.३० प्रतिशतले घट्दा वित्त, होटेल तथा पर्यटन, जलविद्युत्, जीवन बिमा, उत्पादन तथा प्रशोधन समूह एक प्रतिशतभन्दा धेरैले गिरावट भएका छन्।
सामुदायिक लघुवित्त, सिटिजन्स बैंक डिबेन्चर २०८६ र आत्मनिर्भर लघुवित्त पाँच प्रतिशतभन्दा धेरैले बढ्दा उपकार लघुवित्त ११ प्रतिशतभन्दा धेरैले घटेको छ। बुद्धभूमि नेपाल सात तथा दिव्यश्वरी हाइड्रो, हिमस्टार ऊर्जा, टक्सार पिखुवा खोला र भुजुङ हाइड्रोपावर ६ प्रतिशतभन्दा धेरैले घटेका छन्।