कोशी पम्प नहरको बाँध भत्कियो, १३ हजार हेक्टरमा सिँचाइ ठप्प

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

सप्तरीको कोशी पम्प नहरको बाँध भत्किएको छ। राजविराज नगरपालिका– ११, झल्हीस्थित नहरमा शनिबार पानी छोडिएको वेला मध्यराति करिब सात मिटर बाँध भत्किएको हो।

बाँध भत्किँदा छेउका ५–६ कट्ठा धानखेत बालुवाले पुरिएको छ भने केही बिघा धानखेत डुबानमा परेकाे छ।

आइतबार रातभर परेको अविरल वर्षाका कारण स्थानीय किसान थप चिन्तित बनेका छन्। एकातिर वर्षाको पानीले खेतहरू डुबानमा परेका छन् भने अर्कोतिर भत्किएको कोशी पम्प नहरको बाँध अझै मर्मत हुन नसक्दा आगामी दिनमा सिँचाइ कसरी गर्ने भन्ने चिन्ताले किसानलाई सताउन थालेको छ।

स्थानीय ७५ वर्षीय किसान जानकी यादवका अनुसार तत्कालका लागि रोपाइँ गर्न वर्षाको पानीले राहत पुगे पनि वर्षा रोकिएपछि समस्या सुरु हुने देखिन्छ। वर्षा रोकिएको दुई दिनभित्रै रोपेको धान सुक्न थाल्ने भएकाले भत्किएको नहर समयमै मर्मत नभए सिँचाइमा ठुलो समस्या आउने उनले बताए।

मुख्य खेतीको सिजनमै सिँचाइ सुविधाबाट वञ्चित हुनुपरेका कारण खेत बाँझै रहने अवस्था आउन सक्ने भन्दै यहाँका हजारौँ किसान परिवारको जीविकोपार्जनमा गम्भीर संकट उत्पन्न हुने राजविराज– ११ का किसान विन्दु यादवले बताए। सम्बन्धित निकाय र स्थानीय प्रशासनलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बजेट र प्राविधिक कारण देखाएर ढिलासुस्ती गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे। तत्काल मर्मत कार्य सुरु नगरिए सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत उनले दिएका छन्।

कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन कार्यालय, राजविराजका प्रमुख वीरेन्द्र यादवका अनुसार माटो अभावका कारण तत्कालै मर्मत कार्य सुरु गर्न नसकिएको हो। ‘त्यहाँ कसैले अनाधिकृत रूपमा प्लास्टिकको पाइप राखेका कारण नहर भत्किएको भन्ने प्राविधिकबाट जानकारी आएको छ,’ उनले भने, ‘नहर हाम्रो साझा सम्पत्ति हो भन्ने कुरा सबैले बुझ्नु जरुरी छ। कसैले आफ्नो मात्र फाइदाका लागि यस्तो कार्य गरे सबै किसान समस्यामा पर्छन्। त्यस्ता कार्य कानुनी अपराधसमेत भएकाले त्यसो नगर्न आग्रह गर्दछु।’

कोशी पम्प नहरबाट १३ हजार १८० हेक्टर क्षेत्रफलमा सिँचाइ हुँदै आएको छ।

सुझावित समाचार