वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने प्रलोभन देखाएर २६ जनाबाट करिब दुई करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ बस्दै आएका ४६ वर्षीय लहानुराम चौधरी रहेका छन्।
प्रहरीका अनुसार चौधरीले क्यानडामा आकर्षक रोजगारी दिलाइदिने आश्वासन दिँदै पीडितहरूबाट विभिन्न समयमा रकम असुलेका थिए। रकम संकलन गरेपछि उनी सम्पर्कविहीन बनेको भन्दै पीडितहरूले उजुरी दिएका थिए। उजुरीका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।