गणेश नेपालीको घटनालाई राजनीतिक बहसभन्दा आत्मचिन्तनको विषय बनाउन गगन थापाको आग्रह

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।

थापाले गणेश नेपालीको घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी घटना भएको उल्लेख गर्दै यसलाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाउन आग्रह गरेका छन्। एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र मानवीय संवेदनासँग जोडिएको विषय भएकाले सबैलाई संयमता अपनाउनआग्रह गरे । 

उनले यस कठिन घडीमा गणेश नेपालीका आश्रित परिवारलाई सक्दो साथ र सहयोग गर्न सबै पक्षलाई आ–आफ्नो ठाउँबाट योगदान दिन आग्रह गरेका छन्। विगत वा वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने उनको धारणा छ।

एउटा युवा किन यस्तो निराशाको अवस्थासम्म पुग्छ, आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ, राज्यका सेवा र संयन्त्रले नागरिकलाई भरोसा र संरक्षणको अनुभूति गराउन नसक्नुको कारण के हो र समाज, परिवार, राज्य तथा नागरिकका रूपमा कहाँ कमजोरी रह्यो  ? भन्ने प्रश्नको इमानदार उत्तर खोज्नुपर्ने उल्लेख गरे । 

भविष्यमा कुनै पनि नागरिकले यस्तो पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाको भनाइ छ।

सुझावित समाचार