मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

नेपाल सरकारका सचिव गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

यही शुक्रबारदेखि खाली हुने मुख्यसचिवको पदका लागि सरकारले दुई दिनअघि नै नयाँ नियुक्तिको निर्णय गरेको हो। हाल मुख्यसचिव रहेका सुमनराज अर्याल यही २६ असारमा उमेरहदका कारण अवकाश हुँदैछन्। रिक्त हुन लागेको उक्त पदमा सरकारले कार्कीलाई नयाँ नियुक्ति दिएको हो। मुख्यसचिवको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ।

कार्की हाल प्रधानमन्त्री कार्यालयमै कार्यरत् छन्। उनी २० भदौ ०८१ मा सचिव नियुक्त भएका थिए। २०२७ साल जन्ममिति रहेका कार्कीको उमेर हदका कारण सचिवबाट अनुमानित अवकाश वर्ष ०८५ हो। हालकै व्यवस्था कायम रहे उनले सोही वर्ष मुख्यसचिवबाट अवकाश पाउनेछन्।

कार्की जेनजी सरकार गठन हुनुपूर्वदेखि नै प्रधानमन्त्री कार्यालयमा कार्यरत् छन्। सुशीला कार्कीदेखि बालेन नेतृत्वको सरकारमा उनी कार्यालयको महत्वपूर्ण भूमिकामा छन्। वरियताक्रममा तल रहे पनि कार्यसम्पादन र निजामती सेवामा हालसम्म कुनै सार्वजनिक विवादमा नमुछिएका कार्की मुख्यसचिवमा सरकारको रोजाइमा परेका हुन्।

०४६ मा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका कार्कीले ०५३ मा शाखा अधिकृत, ०६२ मा उपसचिव, ०७० मा सहसचिव हुँदै ०८१ मा सचिवमा बढुवा भएका थिए। उनी तीनवटा विषयमा स्नातकोत्तर हुन्। उनले त्रिविबाट एमपिए र एमबिए तथा जापानबाट इन्टरनेसनल डेभलपमेन्ट स्टडिजमा मास्टर्स गरेका छन्। विद्यमान कानुनअनुसार उनी ०८५ पुससम्म मुख्यसचिव रहनेछन्।

सुझावित समाचार