मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्ड बर्खा लागेसँगै सधैँको दुःख बन्ने गरेको छ । सामान्य वर्षामै पहिरोका कारण सडक भासिँदा नागरिकले सधैँ सास्ती भोग्नुपरेको हो । सडक निरन्तर मर्मत गर्दा पनि समस्या आइरहेपछि सामान्य बर्खामा समेत अवरुद्ध हुँदै आएको छ । राजदुवालीको करिब सात सय मिटर खण्डले सधैँ दुःख दिने गरेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।
केही दिनदेखि परेको वर्षाका कारण राजदुवाली खण्डमा पहिरो जाँदा र भासिँदा यात्रा नै कठिन र जोखिमपूर्ण बनेको छ । सामान्य बर्खाको समयमा पनि सडक अवरुद्ध हुने गरेको छ । गत वर्षको बर्खासँगैको बाढीपहिरोका कारण पनि यो खण्ड थिलथिलो बनेको थियो । हालै दुई दिनसम्म सडक अवरुद्ध हुन पुग्यो भने अहिले जिल्ला प्रशासन कार्यालय इलामले जोखिमलाई मध्यनजर गर्दै राति ८ देखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
मेची राजमार्गअन्तर्गत राजदुवाली खण्डले तीन वर्षयता नियमित दुःख दिइरहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताए । ठुलो पानी पर्नेबित्तिकै सडक अवरुद्ध हुने गरेको उनको भनाइ छ । मेची राजमार्गको राजदुवाली खण्डको सात सय मिटर सडकको यात्रा सहज नभएको उनी बताउँछन् । ‘एउटै पहिरोमा चार घुम्ती छ । तसर्थ, एउटा पहिरोले नै पूरै प्रभाव पार्छ । यो सडक पानी पर्नेबित्तिकै ठप्प हुने अवस्थामा छ । अरू वेला पनि यहाँको यात्रा सहज छैन,’ उनले भने, ‘गाडी फस्ने, हिलो हुने समस्या छ । जसका कारण गाडी धकेल्नुपर्ने समस्या छ ।’
राजदुवालीको भूगोल कमजोर भएका कारण समस्या निम्तिरहेको उनले बताए । यो भूगोलमा जमिनमुनि पानी हुँदा सधैँ समस्या हुने गरेको डिभिजन प्रमुख भट्टराई बताउँछन् । यस्तै। पुवा खोला हाइड्रोपावरको टनेल सिपेज भएर निस्किएको पानीले पनि राजदुवालीमा समस्या निम्तिएको उनको भनाइ छ । ‘यहाँको कमजोर भूगोलका कारण पनि समस्या भएको हो । दश वर्षअघिसम्म यहाँको गाउँमा खानेपानी अभाव हुन्थ्यो । अहिले जता कोट्याउँदा पनि पानी आउँछ । तसर्थ राजदुवालीको जमिनमुनि पानी छ । यसले समस्या निम्त्याएको छ,’ उनले भने, ‘यसमा पुवा खोला हाइड्रोपावरको टनेलको सिपेजको कारण पनि हो । पूर्ण रूपमा त भन्दिनँ, तर उल्लेख्य रूपमा यसको असर छ । ८० प्रतिशत समस्या यसले निम्त्याएको छ ।’
राजदुवाली खण्ड गत वर्ष नै ठेक्का लागेर काम भइरहेको छ । सडक डिभिजन कार्यालय इलामका अनुसार इलामको जारकलसदेखि हर्कटेसम्म सडक स्तरोन्नति, माइखोलाको पुल मर्मत र राजदुवाली मर्मतका लागि ०८४ असारमा काम सम्पन्न गर्न गरी २४ करोड ९३ लाख ७७ हजारमा जेएनजे निर्माण सेवाले ठेक्का लिएर काम गरिरहेको छ । तर, चैतदेखि निरन्तर पानी पर्दा काम सम्पन्न हुन नसकेको डिभिजन प्रमुख भट्टराईले बताए ।
सडकलाई भासिन नदिन राजदुवाली खण्डमा तल्लो भागमा वाल निर्माण भइरहेको छ । ‘यसपटक चाहिँ अब समस्या नआउने गरी काम गरिरहेका छौँ । यसका लागि अध्ययन पनि गरेका छौँ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले अनुगमनका क्रममा वैकल्पिक अलाइनमेन्ट खोज्न भन्नुभएको छ,’ उनले भने, ‘वैकल्पिक अलाइनमेन्ट निर्माण गर्न पनि दुई–तीन वर्ष लाग्छ । त्यो समयसम्म सडक सञ्चालन गर्न पनि राजदुवाली खण्ड मर्मत गर्नैपर्छ ।’
बर्खा लागेसँगै ठुलो पानी पर्नेबित्तिकै इलाम सदरमुकाम सडक सञ्जालबाट टुट्ने डिभिजन प्रमुख भट्टराईको भनाइ छ । वैकल्पिक सडकका रूपमा रहेको सिमलगोलाई–तिल्केनी १२ किलोमिटर सडक पनि कच्ची छ । त्यसमा पनि जोगमाई खोलामा पुल निर्माण नहुँदा डाइभर्सनबाट सञ्चालन गर्नुपर्ने अवस्था छ ।
‘सिमलगोलाई–तिलकेनी खण्डबाट साना सवारी सञ्चालन भइरहेका छन् । ठुलो पानी आउँदा जोगमाई खोलाको डाइभर्सनमा पनि क्षति पुग्छ । त्यसैले अहिलेको अवस्थामा ठुलो पानी आउँदा सदरमुकाम सडक सञ्जालबाट टुट्ने खतरा छ,’ उनले भने, ‘जोगमाई खोलामा भारतबाट सहयोग आउने भनेको बेलिब्रिज अहिलेसम्म आएको छैन । सडक कच्ची छ । यसलाई कालोपत्रे गर्न पाए केही सहज हुन्थ्यो । अब इलामले राजदुवालीको विकल्प खोज्नुपर्छ ।’