फिफा विश्वकप २०२६ मा सनसनी प्रदर्शन गरेर फर्किएको केप भार्डेको फुटबल टोलीलाई स्वदेशमा भव्य स्वागत गरेको छ । राजधानीको मुख्य विमानस्थलबाट ओर्लिएपछि त्यहाँका कर्मचारीहरूले खेलाडी तथा अफिसियलहरूलाई स्वागत गरेका थिए । पहिलोपटकको सहभागीमै विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको टोलीलाई विभानस्थलदेखि राजधानीका मुख्य सहरमा नगर परिक्रमा गराइएको थियो । खेलाडीहरू बसमा बसेर नगर परिक्रममा गर्दा हजारौँ समर्थकलाई धन्यवाद दिएका थिए । लगभग सबै क्षेत्रबाट समर्थकहरू खेलाडीको स्वागतमा विशाल भिड उर्लिएका थिए ।
खेलाडी र समर्थकले एक उत्सवका रुपमा लिएका देखिन्थे । सडकमा समर्थकहरूले ड्रम बजाउँदै खेलाडी सवार भएको बससँगै हिँडेका थिए । उनीहरूले ‘विश्वकपमा केप भार्डेको ऐतिहासिक प्रदर्शन’ भनी नारा लगाइरहेका थिए । विश्वकपको माध्यमबाट केप भार्डेलाई विश्वले चिनेको समर्थकहरूका भनाइ रह्यो । समर्थकहरू नाच्दै र राष्ट्रिय झन्डा फहराउँदै आफ्ना खेलाडीहरूको सम्मानमा हर्षित भएका देखिन्थे ।
विश्वकपको डेब्यु संस्करणमै केप भार्डेले आफ्नो पहिलो खेलमै पूर्वविजेता स्पेनलाई सनसनी खेलमा गोलरहित बराबरीमा रोक्दै चर्चा बटुलेको थियो । त्यसपछि समूह चरणमै दुईपटकको विजेता उरुग्वेलाई समेत २–२ को बराबरीमा रोकेर ऐतिहासिक रूपमा राउन्ड अफ ३२ मा स्थान केप भार्डेले बनाएको थियो ।
केप भार्डेको चर्चा त्यसवेला चुलिएको थियो, जुनवेला उसले साबिक विजेता अर्जेन्टिनाविरुद्ध नकआउट चरणमा प्रतिस्पर्धा गरेको थियो । अर्जेन्टिनाका सबै खेलाडी युरोपियन शीर्ष लिगका अनुभवी खेलाडी थिए । अझ कप्तान लियोनल मेसी वर्तमान समयकै उत्कृष्ट खेलाडीमा पर्छन् । अर्जेन्टिनाले केप भार्डेलाई सहजै हराउने अनुमान थियो । तर, ४० वर्षीय गोलरक्षक भोजिन्हाको उत्कृष्ट फर्ममा तथा असम्भव बचाउका कारण अर्जेन्टिनाविरुद्धको खेलमा केप भार्डेले बढी चर्चा पाएको थियो । यस भिडन्तलाई धेरैले केप भार्डेकै जित बताएको थियो । आफ्नै खेलाडीको आत्मघाती गोललाई छाडेर विश्लेषण गर्ने हो भने अर्जेन्टिनाविरुद्ध केप भार्डे नै हाबी थियो ।
पोर्चुगलबाट स्वतन्त्र भएको ५१औँ वर्ष
समर्थकहरूले विमानस्थलमा डिफेन्डर पिको लोपेस र कप्तान रायन मेन्डेसले समर्थकहरूलाई कृतज्ञता व्यक्त गरे । पोर्चुगाली औपनिवेशिक शासन अन्त्य भएको ५१ वर्ष पुगेको उपलक्ष्यमा केप भार्डेले उत्सवमा मनाइरहेको छ । यसैबिच विश्वकपको सफलताले समर्थकहरूलाई थप खुसी प्रदान गरेको छ । यसैकारण, केप भार्डेका समर्थकले विश्वकपमा खेलेका सबै खेल जित बराबर लिएका छन् । विश्वभर चर्चा कमाएका गोलरक्षक भोजिन्हा विश्वकपको माध्यमबाट राष्ट्रलाई चिनाउन सफल भएको बताए । ‘आफ्ना मानिसहरूका बिचमा यहाँ हुन पाउनु हाम्रा लागि निकै ठुलो क्षण हो । हामी योभन्दा माथि जान चाहन्थ्यौँ,’ उनले भने, ‘तर हामी जान सकेनौँ । अहिले हामी आफ्ना मानिसहरूसँग यो ऐतिहासिक उपलब्धिको खुसी मनाइरहेका छौँ ।’