चालू विश्वकपअन्तर्गत स्पेन र पोर्चुगलबिचको खेल नकआउट चरणको बहुप्रतीक्षित भिडन्तका रूपमा रहेको छ । युवा टोलीले भरिएको स्पेनलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । ४१ वर्षमा पनि युवा जोसमा खेलिरहेका क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल पनि दाबेदारमध्ये एक हो । पोर्चुगलले अहिलेसम्म फाइनलमा स्थान बनाउन सकेको छैन । लगातार छैटौँपटक विश्वकप खेलिरहेका रोनाल्डोको सम्भवतः यो नै अन्तिम हो । ठुला युरोपेली लिग खेलेका युवादेखि अनुभवी खेलाडी रहेको पोर्चुगल विश्वकपको नकआउट चरणमा चुकेको देखिन्छ । विश्वकप इतिहासमा पोर्चुगल समान एकपटक तेस्रो तथा चौथो भएको छ ।
सन् १९६६ मा इंग्ल्यान्डले विश्वकप जित्दा पोर्चुगल तेस्रो भएको थियो । २००६ मा जर्मनीले आयोजना गरेको संस्करणमा
उसले चौथो स्थान रक्षा गर्नु नै अहिलेसम्मकै ठुलो उपलब्धि हो । २०२२ मा कतारले आयोजना गरेको विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलमा मोरोक्कोसँग स्तब्ध भएको थियो । त्यसवेला पोर्चुगल उत्कृष्ट फर्ममा थियो । यसपटक पोर्चुगलले अन्तिम १६ को भिडन्तमै स्पेनजस्तो संगठित टोलीलाई प्रतिस्पर्धी पाएको छ ।
पोर्चुगलको तुलनामा स्पेनले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको छ । स्पेन कुनै पनि पक्षमा कमजोर छैन । स्पेनी टोलीलाई अधिकांश युवा खेलाडीको साथ छ । फिफा वरीयतामा स्पेन दोस्रो तथा पोर्चुगल पाँचौँ स्थानमा छन् । लुइस डिकोको प्रशिक्षणमा रहेको स्पेनले अघिल्ला चार खेलमा सानदार प्रदर्शन छ ।
समूह चरणको आफ्नो पहिलो खेलमा स्पेनले डेब्यु टोली केप भार्डेविरुद्ध गोलरहित बराबरी खेल्यो । धेरैले यसलाई केप भार्डेले स्पेनविरुद्ध अप्रत्याशित नतिजा निकालेको जनाएका थिए । साउदी अरेबियालाई ४–० तथा उरुग्वेलाई १–० ले हराउँदै स्पेन समूह ‘एच’को विजेता बनेको थियो । नकआउटको पहिलो खेलमै अस्ट्रियालाई ३–० ले हराउँदै स्पेनले पोर्चुगलसँगको भेट पक्का गरेको हो । पोर्चुगलले समूह चरणदेखि राउन्ड अफ ३२ सम्म सकसपूर्ण नतिजा निकालेको थियो ।
उज्वेकिस्तानविरुद्ध समूह चरणमा फराकिलो जित निकाल्नेबाहेक अन्य खेलमा पोर्चुगलले संघर्ष गर्नुपरेको थियो । नकआउट चरणमा पोर्चुगलले क्रोएसिया जस्तो युरोपियन बलियो राष्ट्र पाएको थियो । पोर्चुगलमा अनुभवी खेलाडी भए पनि उनीहरूबिचको तालमेल अझै मिल्न सकेको छैन ।
स्पेनलाई युवा खेलाडीको साथ
स्पेनलाई १८ वर्षका लामिन यमलदेखि ३२ वर्षका ऐमेरिक लापोर्टेजस्ता खेलाडीसम्मको साथ रहेको छ । डेब्यु विश्वकपमा बार्सिलोनाका युवा स्ट्राइकर यमलको प्रदर्शन उच्चकोटिको छ । उनलाई बार्सिलोनाबाट खेलिरहेका ड्यानी ओल्मो, पेड्री र पाउल कुबार्सीले साथ दिइरहेका छन् । स्पेनी टोलीमा मुख्य खेलाडीका रूपमा मिकल ओयरजाबल रहेका छन् । रियल सोसिडाडबाट खेलिरहेका उनले स्पेनबाट सर्वाधिक चार गोल गरिसकेका छन् ।
ओयरजाबललाई लामिनसँगै एट्लेटिको म्याड्रिडका एलेक्स बाइनाले साथ दिनेछन् । ओयरजाबलले विपक्षीको पोस्टमा १७ पटक फ्रेममा पोस्ट चार्ज गरेका छन् । एलेक्सले सर्वाधिक धेरै २३ पटक विंग्सबाट क्रस गरेका छन् । यस्तै, म्यानचेस्टर सिटीका रोड्री र बार्सिलोनाका पेड्रीले मिडफिल्डमा फाइनल थर्डमा गतिलो पास निकालिरहेका छन् । रोड्रीले चार खेलमा ४३५ पास खेलेका छन् ।
केन्द्रविन्दुमा रोनाल्डो
खेलमा पोर्चुगलका ४१ वर्षीय कप्तान रोनाल्डो केन्द्रविन्दुमा रहनेछन् । २००६ देखि निरन्तर विश्वकपमा सहभागी रोनाल्डोको यो अन्तिम डान्स हुनेछ । समूह चरण र नकआउट चरणमा संघर्षपूर्ण जित र बराबर नतिजाका कारण पोर्चुगलका खेलाडीसँग समर्थक निराश छन् । रोनाल्डोले अहिलेसम्म चार खेलमा तीन गोल गरेका छन् । पोर्चुगलले क्रोएसियाविरुद्ध २–१ को जित निकाल्दा रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए । नकआउट चरणमा उनले पहिलोपटक गोल गरेका थिए । उनले कमजोर एसियन प्रतिद्वन्द्व उज्वेकिस्तानविरुद्ध दुई गोल गरे । उनी डिआर कंगो र कोलम्बियाविरुद्ध गोल गर्न चुके । दुवै खेलमा पोर्चुगलले अंक बाँडेको थियो ।
रोनाल्डोलाई एसी मिलानबाट खेलिरहेका राफेल लिओ र गोन्जालो रामोस, चेल्सीबाट खेलिरहेका पेड्रो नेटो, पिएसजीका भिटिन्हा, म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेज, म्यानचेस्टर सिटी भर्खरै छाडेका बर्नान्डो सिल्भाले साथ दिनेछन् । बल पोसेसन बलियो बनाएर अट्याक गरिरहने स्पेनविरुद्ध गोलरक्षक डिएगो कोस्टाको पनि उत्तिकै भूमिका हुनेछ । क्रोएसियाविरुद्ध उनी व्यस्त भएका थिए ।
हेड टु हेडमा स्पेन
स्पेन र पोर्चुगलबिच ११ पटक भेट भएको छ । उनीहरूबिचको प्रतिस्पर्धामा पाँच खेलमा स्पष्ट नतिजा आएको छ । जसमा स्पेनले तीन तथा पोर्चुगलले २ खेल जितेको छ । दुवैले ६ खेल बराबरीमा सकाएका छन् । ११ अन्तर्राष्ट्रिय खेलमा कुल २२ गोल भएका छन् । जसमा दुवै टोलीले समान ११ गोल गरेका छन् । विश्वकपमा पोर्चुगल र स्पेनबिच दुईपटक भेट भएको छ । एक भेटमा स्पेन विजयी हुँदा अर्काे बराबरीमा टुंगिएको थियो । २०१० मा च्याम्पियन हुँदा स्पेनले पोर्चुगललाई १–० ले हराएको थियो । २०१८ को रुसले आयोजना गरेको विश्वकपमा स्पेन र पोर्चुगलबिच ३–३ को बराबरी भएको थियो । जसमा रोनाल्डोले सनसनी रूपमा ह्याट्रिक लगाएका थिए ।