सिंहदरबारमा बालेन एक्सप्रेस

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण
  • प्रधानमन्त्रीले भनेजस्तो सरकारलाई ‘एक्सप्रेस वे’मा चलाउन सिंहदरबारका धेरै खाल्डाखुल्डी पुर्न बाँकी नै छ  

नयाँ सरकार बनेसँगै सचिवहरू भेला गरेर सेवा प्रवाह चुस्त बनाउन प्रधानमन्त्रीले निर्देशन दिने सिंहदरबारको परम्परा नै छ । प्रधानमन्त्री बालेन शाहले पनि यसलाई निरन्तरता दिए । तर, फरक के रह्यो भने यसरी निर्देशन दिए पनि कर्मचारीतन्त्रले सुधारको नेतृत्व गर्न सक्नेमा विगतका सरकारले जस्तो उनले विश्वास गरेनन् । आफ्नै सचिवालयलाई सक्रिय बनाए । सचिवालयले नै तयार गरेको सय दिनको कार्यसूची मन्त्रिपरिषद्को पहिलो बैठकबाटै पारित गरेर कार्यान्वयनमा लगे ।

सरकार सय दिनको पूर्वसन्ध्यामा पुग्दा सुधारका सय कार्यसूची सबै पूरा नभए पनि यो अवधिमा एउटा शक्तिशाली सरकारको सन्देश दिन सफल भने भएको छ । जनअपेक्षाअुनसार व्यापक काम गर्न नसके पनि राज्यका हरेक निकायमा सकारात्मक हलचल ल्याउन सफल भएको छ ।

पछिल्ला दुई दशक सिंहदरबारको नेतृत्वमा जुनसुकै सरकार आए पनि तिनको कार्यशैलीमा तात्विक फरक देखिन्नथ्यो । किनकि, तिनलाई चलाउने अदृश्य शक्ति एउटै थियो । सिंहदरबार ‘दलालतन्त्र’को दुश्चक्रमा फसिसकेको थियो । त्यही उकुसमुकुसबिच एक्कासि आएको जेन–जी विद्रोहसँगै बनेको सरकारको कार्यशैलीमा केही फरकपन देखिन्छ । जसले सुधारका किरण त देखाएको छ, तर जनताका आकांक्षा भेट्नेमा आश्वस्त हुन सक्ने अवस्था भने देखिन्न । 

सुधारका केही छनक सिंहदरबारमा देखिँदै छ । लगामविहीन कर्मचारीतन्त्र अनुशासनतर्फ फर्कंदै छ । सिंहदरबारमा कार्यालय समयमा कर्मचारी हत्तपत्त कार्यालय छाड्दैनन् । बिचौलिया एजेन्ट बनेका ट्रेड युनियनका नेता दुर्गम क्षेत्रमा खटाइएका छन् । सेवाप्रदायक कार्यालयमा तुलनात्मक रूपमा कर्मचारीको नागरिकप्रतिको व्यवहार फेरिएको छ । ‘हेलो सरकार’ले जनताका गुनासालाई ‘फाष्ट ट्र्याक’मा सम्बोधन गर्न थालेको छ । गुमनाम बनेको सतर्कता केन्द्रको सक्रियता बढेको छ ।

कर्मचारी र सुरक्षाकर्मीको सरुवामा हुने ‘प्रिपेड असुली’ तत्कालका लागि रोकिएको छ । सीमामा हुने संगठित तस्करी धेरै हदसम्म घटेको छ । सार्वजनिक निकायको नियुक्तिमा तुलनात्मक रूपमा असल व्यक्ति नै रोजाइमा परेका देखिन्छन् । मन्त्रालयको संख्या कटौतीदेखि कर्मचारीको पनि अनावश्यक दरबन्दी पुनरावलोकन गरी सरकारले खर्च कटौतीमा सकारात्मक सन्देश दिने प्रयास गरिरहेको छ । हरेक सरकारी सेवालाई सूचना प्रविधिसँग जोडेर सेवा प्रवाहमा व्यापक सुधार गर्न प्रधानमन्त्रीको टिम सक्रिय देखिन्छ । 

पछिल्लो दुई दशक सिंहदरबारको शासनशैलीले दीपक भट्टजस्ता शक्तिशाली ‘पावर ब्रोकर’ जन्माएको थियो । जसका लागि सरकारका हरेक ढोका सधैँ खुला हुन्थे । उनीलगायत केही शक्तिशाली व्यक्ति सदरखोर पुगेका छन् । केही ठुला वित्तीय अपराधमा सरकारले विनासम्झौता कारबाही गरेको देखिन्छ ।   

केही सकारात्मक प्रयास हुँदाहुँदै पनि दुईतिहाइको सरकारका कार्यशैलीप्रति प्रश्नैप्रश्न उठेका छन् । पाँच वर्षको प्रस्ट म्यान्डेट पाएको सरकार गठन भएको एक महिनामै सुकुम्बासी बस्तीमा डोजर लिएर पुग्यो । वैकल्पिक बसोवासको विकल्पविना चालिएको यो कदम सरकारका लागि आत्मघाती देखिएको छ । यद्यपी, लालपुर्जा वितरणलाई छिटो अघि बढाउने गरी यस प्रकरणबाट पुगेको क्षति न्यूनीकरणको प्रयास हुँदै छ । 

अर्कातर्फ देशमा ‘पुलिस स्टेट’को झल्को देखिन थालेको छ । सरकार बलियो देखिने नाममा जरुरी पक्राउ पुर्जीको दुरुपयोग बढेको छ । बलियो कानुनी आधारविना केही उच्चपदस्थलाई पक्राउ गर्दा ती मुद्दा कमजोर बन्न पुगेका छन् । प्रधानमन्त्रीलाई ‘म्यासेज’ गरेकै आधारमा सरकारका सचिव पक्राउ गर्नेदेखि ठेकेदारलाई प्रहरी लगाएर मन्त्रालयमा उपस्थित गराउने उदेकलाग्दो कार्यशैलीले सरकारमाथि प्रश्न बढाएका छन् । अपराधको गाम्भीर्य फरक होला । तर, हिजो रवि लामिछानेको पक्राउ र आज विष्णु पौडेललाई आदेशको भरमा गरिएका पक्राउको शैलीमा भिन्नता छैन । 

प्रधानमन्त्री कार्यालयमा छलफलमा बोलाइएका कर्मचारीलाई अख्तियार बोलाएर पक्राउ गर्न लगाउने अर्को अनौठो कार्यशैली देखियो । यसबाट भ्रष्टाचारप्रति सरकार निर्मम छ भन्ने सन्देश दिन खोजिएको हुन सक्छ, तर यो शैलीले राज्यलाई झन् कमजोर बनाएको छ । चित्त नबुझेका कतिपय व्यक्तिमाथि छिटो अनुसन्धान गर्न अख्तियारमाथि सरकारका मन्त्रीले दबाब दिइरहेका छन् । प्रधानमन्त्री र उनको टिमतर्फ एकतर्फी कुरा सुनेर कदम चाल्ने गरेको टिप्पणी सिंहदरबारमा सुनिन्छ । संसद्बाटै मन्त्रीहरूले विपक्षका फाइल खोल्ने धम्की दुईतिहाइको दम्भ हो । राज्य चलाउनेमा यो तहको प्रतिशोधको सोच डरलाग्दो छ ।

सरकार कर्मचारीतन्त्र  पुनर्संरचनाको गृहकार्यमा छ । दरबन्दी कटौतीदेखि नीतिगत हेरफेर गर्न लागिएको छ । तर, कर्मचारीतन्त्रलाई विश्वासमा लिएर बढ्ने कार्यशैली देखिन्न । सिंहदरबारमा मुख्यसचिवबाहेक अन्य कर्मचारीसँग प्रधानमन्त्रीको बिरलै सल्लाह हुन्छ । कर्मचारीतन्त्रलाई प्रोत्साहनको वातावरण नबनाई सरकारको ‘एक्सप्रेस’ यात्रा गन्तव्यमा पुग्न पक्कै सहज नहोला ।

निजी क्षेत्र पनि यतिवेला त्रासमै देखिन्छ । निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म अर्थतन्त्रलाई अघि बढाउन सहज छैन भन्ने विद्वान् अर्थमन्त्री भएको सरकारले पक्कै बुझेको हुनुपर्छ । तर, त्यो खालको सरकारी कार्यशैली देखिन्न । तीन महिनाको अवधिमा राजस्व असुलीमा पनि अपेक्षित सुधार देखिन्न ।

धेरै कमजोरीका बाबजुद सरकारप्रति आमजनताको विश्वास कायमै छ, त्यसको एउटै कारण हो सुशासनको मामिलामा सरकार चुकेको देखिन्न । सम्भवतः प्रधानमन्त्री बालेनको सबैभन्दा ठुलो शक्ति नै उनको ‘इन्टिग्रिटी’ हो । हिजो महानगरमा हुँदा पनि उनले व्यापक काम गरेका होइनन्, अनियमितताको विषयमा उनी कहीँ चुकेनन् । त्यही कारण उनी जनताका नायक बने । अहिलेसम्म प्रधानमन्त्री र उनको टिम निजी स्वार्थबाट टाढै देखिन्छ ।

युवाको टिम भएकाले सय दिनमा कार्यशैलीगत त्रुटिलाई सामान्य मान्न सकिएला । तर, अबका दिनमा सरकारले त्यो छुट पाउनेछैन । अब जनताले नतिजामा सरकारसँग जवाफ माग्नेछन् । राजस्व कति बढ्यो ? कति उद्योग थपिए ? कतिले रोजगारी पाए ? कति पर्यटक थपिए ? नागरिकको जीवनस्तरमा कति सुधार आयो । अबका दिनमा तथ्यसहित सरकारले यी प्रश्नको जवाफ दिनुपर्नेछ । आर्थिक मुद्दामा सरकारको सफलतबाट सरकारले शासनशैलीमा सामान्य सुधार मात्र गर्छ कि समृद्धिकै प्रस्थानविन्दु तय गर्छ भन्ने संकेत गर्नेछ । त्यसका लागि दुईतिहाइको दम्भ र प्रतिशोधभन्दा सरकार नतिजामा केन्द्रित हुनु जरुरी छ । प्रधानमन्त्रीले भनेजस्तो सरकार ‘एक्सप्रेस वे’मा चल्ने वातावरण तयार भएको छैन । सरकारलाई ‘एक्सप्रेस वे’मा चलाउन सिंहदरबारका धेरै खाल्डाखुल्डी पुर्न बाँकी छ ।  
 

सुझावित समाचार