यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ। इन्धनको मूल्यमा गिरावट आएसँगै विभागले स्वचालित प्रणालीअनुसार अन्तर प्रदेश भाडादर दुई प्रतिशतले घटाएको हो। इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा विभागले भाडा समायोजन गर्दै आएको छ।
‘तत्कालीन समयमा पूर्ण रूपमा बढ्नुपर्ने भाडादर नबढेको कारण र हाल पेट्रोलियम पदार्थमा भएको समायोजनलाई समेत मध्यनजर राखी यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा हाललाई २ प्रतिशतले भाडा घट्ने गरी असार १८ देखि लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन गरिएको’ सूचनामा उल्लेख छ।