विनाहेलमेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई पाँच सय रुपैयाँ जरिवाना तिराएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोली मुख्यमन्त्री निवासमै पुगेर हेलमेट नलगाई सवारी चलाएको कसुरमा जरिवानास्वरूप पाँच सय रुपैयाँको ‘चिट’ काटेको थियो ।
मुख्यमन्त्री शाहले गल्ती स्वीकार गर्दै जरिवाना तिरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्यले हेलमेट नलगाएर मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा आएपछि नियमअनुसार मुख्यमन्त्रीलाई जरिवाना गरिएको बताए ।
सवारी तथा यातायातसम्बन्धी ऐनमा हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइएमा पहिलोपटकलाई पाँच सय रुपैयाँ, दोस्रोपटकका लागि एक हजार र त्यसपछि एक हजार पाँच सय रुपैयाँ जरिवानाको व्यवस्था रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
मुख्यमन्त्री शाहले बुलेट मोटरसाइकल हेलमेटविना चलाएको भिडियो आज सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियो मुख्यमन्त्री निवासपरिसरको हो । दिउँसो ‘वाकर’को सहायताले हिँडडुल गर्दै आएका मुख्यमन्त्री शाह बेलुकी मोटरसाइकल चलाएको भिडियो आएपछि विभिन्न टीका–टिप्पणी भइरहेका छन् ।
रिडको हड्डीमा समस्या रहेको भन्दै उनी केही महिनायता वाकरको सहायताले हिँड्ने गर्छन् । मुख्यमन्त्री शाहका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले मुख्यमन्त्रीले हेलमेट नलगाई मोटरसाइकल चलाएको भिडियो आफ्नो टिकटकमा राखेका थिए ।