मूल्य घटेपछि कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पलाई कारबाही गर्न नेता शाहीको माग

बुधबार, १७ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम पदार्थको मूल्य घटेपछि कृत्रिम अभाव सिर्जना गर्ने तथा इन्धन लुकाएर उपभोक्तालाई सास्ती दिने पेट्रोल पम्पहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता शाहीले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै देशका विभिन्न स्थानमा बिक्री बन्द गरिएको सूचना प्राप्त भएको बताएका छन्।

मूल्य घटेपछि पुरानो महँगो मूल्यमा खरिद गरिएको इन्धन जोगाएर नाफा कमाउने उद्देश्यले केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको उनको आशंका छ। यस्तो कार्य उपभोक्तामाथिको ठगी मात्र नभई बजार प्रणाली र कानुनी शासनमाथिको चुनौती भएको उनले औँल्याएका छन्।

शाहीले सरकार, नियामक निकाय तथा अनुगमन टोलीलाई तत्काल बजारमा अनुगमन तीव्र बनाउन, इन्धन लुकाएर बिक्री बन्द गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पहरूको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न आग्रह गरेका छन्।

साथै उनले आमउपभोक्तालाई पनि सचेत रहन अपिल गर्दै, आफ्नो क्षेत्रमा मूल्य घटेपछि इन्धन लुकाइएको वा कृत्रिम अभाव सिर्जना गरिएको पाइएमा सम्बन्धित पेट्रोल पम्पको नाम, ठेगाना, फोटो वा भिडियोसहित प्रमाण उपलब्ध गराइदिन आग्रह गरेका छन्। प्राप्त प्रमाणका आधारमा सम्बन्धित निकायको ध्यानाकर्षण गराई दोषीलाई कारबाहीको दायरामा ल्याउन पहल गर्ने उनले बताएका छन्।

सुझावित समाचार