गोलरक्षक नुएरले दोस्रोपटक लिए सन्न्यास

सन् २०१४ मा कप्तानीमा जर्मनीलाई चौथोपटक विश्वकप दिलाएका गोलरक्षक म्यानुएल नुएरले पाराग्वेविरुद्ध अन्तिमपटक खेले

बुधबार, १७ असार, २०८३
डिजिटल संस्करण

जर्मनीका भेट्रान्स गोलरक्षक म्यानुएल नुएरले दोस्रोपटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताबाट सन्न्यास घोषणा गरेका छन् । चालू विश्वकपको नकआउट चरणअन्तर्गत पाराग्वेसँग पेनाल्टी सुटमा पराजित भएपछि गोलरक्षक नुएरले सन्न्यास लिएका हुन् । सन् २०२४ को युरोमा स्पेनसँग क्वार्टरफाइनलमा पराजित हुँदा पनि उनले सन्न्यास लिएका थिए । जर्मन प्रशिक्षकको आग्रहमा उनले सन्न्यास फिर्ता लिँदै विश्वकप टोलीमा सहभागिता जनाएका हुन् ।

विश्वकप अगाडि नै उनले आफ्नो अन्तिमपटक राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गर्ने बताइसकेका थिए । सन् २०१४ मा जर्मनीले विश्वकप ट्रफी उचाल्दा उनी टोलीका कप्तान थिए । जर्मनीलाई चौथोपटक विश्व च्याम्पियन बनाउँदा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । यसपटक जर्मनीलाई पाँचौँपटक विश्वकप दिलाउने नुएरको वाचा पूरा भएन । 

‘राष्ट्रिय टोलीबाट योभन्दा अझ राम्रो हुन सक्थ्यो,’ नुएरले भने, ‘हामीले नसोचेको नतिजा निकाल्यौँ । अब जर्मनी टोलीसँगको यात्रा यहीसम्म हो ।’ ४० वर्षीय नुएरले चालू विश्वकपमा सात उत्कृष्ट बचाउ गरेका थिए । नुएरको सन्न्याससँगै जर्मन फुटबल इतिहासमा एक युगको समाप्ति भएको संज्ञा दिइएको छ । ‘जर्मनका महान् गोलरक्षक नुएरले सन्न्यास लिएका छन्,’ जर्मनीको ब्रोडकास्ट एआरडीले भनेको छ, ‘हामीले उहाँसँग सन्न्यासबारे सोधेका थियौँ । विश्वकप नै अन्तिम भएको बताइएको छ ।’ पाराग्वेविरुद्धको पेनाल्टी सुटमा उनले फावियनको प्रहार छेकेका थिए । उनले आफ्नो अनुभव प्रयोग गर्दै जर्मनीलार्ई प्रिक्वार्टरफाइनलमा पुर्याउने छनक देखाए । तर, जर्मन खेलाडीले असफल प्रहार गर्दा उनको पाँचौँपटक विश्वकप उपाधि जित्ने इच्छा अधुरो भयो । 

गोल्डेन ग्लोब्स विजेता
सन् २०१४ मा ब्राजिलले आयोजना गरेको विश्वकपमा उनी करिअरकै उत्कृष्ट फर्ममा थिए । अर्जेन्टिनाविरुद्धको फाइनलमा उनले क्लिन सिट राखेका थिए । उनकै प्रेरणादायी प्रदर्शनको सहयोगमा जर्मनीले अर्जेन्टिनालाई १–० ले हराउँदै विश्वकप उपाधि जितेको थियो । विश्वकपमा गोलकिपिङ भूमिमा असाधारण प्रदर्शन गरेका कारण उनी सो प्रतियोगिताकै गोल्डेन ग्लोब्सबाट सम्मानित भए । सन् २०१८ र २०२२ को विश्वकपको पहिलो चरणबाटै बाहिरिएको जर्मनीले यसपटक बलियो टोली बनाएको थियो । 

अघिल्लो दुई संस्करणमा टोलीले समूह चरण पार गर्न नसक्दा नुएरले नै गोलकिपिङ भूमिका संहालेका थिए । १२ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको जर्मनीको यात्रा यहीँसम्म रह्यो । जर्मनीको फुटबल इतिहासमा ओलिभर कानपछि उत्कृष्ट गोलरक्षकका रूपमा नुएरलाई लिने गरिन्छ । सन् २००९ मा उनले जर्मनीबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उनले अहिलेसम्म १२८ अन्तर्राष्ट्रिय खेलमा ५० पटक क्लिन सिट राखेका छन् । 

प्रशिक्षकले विश्वास गरेका गोलरक्षक
जर्मन प्रशिक्षकहरूको पहिलो रोजाइमा नुएर परिरहेका थिए । सन् २०१४ मा जर्मनीलाई विश्वकप दिलाएका प्रशिक्षक जोखिम लोउ र वर्तमान प्रशिक्षक जुलियन नग्लिसम्यानले उनलाई पहिलो रोजाइका गोलरक्षक रूपमा राखे । यद्यपि, वर्तमान जर्मनीको टोलीमा उत्कृष्ट फर्ममा रहेका गोलरक्षक थिए । तर, विश्वकपजस्तो प्रतियोगितामा अनुभवी खेलाडीको आवश्यकता महसुस गर्दै जुलियनले नुएरलाई गोलकिपिङको जिम्मेवारी दिए । जुलियनकै आग्रहमा उनी विश्वकप टोलीमा सहभागी भएका हुन् । अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए पनि नुएरले बुन्डेस क्लब बायर्न म्युनिखबाट व्यावसायिक करिअर अगाडि बढाउनेछन् । विश्वकपको इतिहासमा नुएरलाई पनि उत्कृष्ट गोलरक्षकको पंक्तिमा राखिएको छ । 

See More On

सुझावित समाचार