क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

सोमबार, १५ असार, २०८३
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसलाई क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतबार सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा विश्वविद्यालय अनुदान आयोगको निर्देशनअनुसार उक्त व्यवस्था कार्यान्वयन गर्न सबै आंगिक क्याम्पसलाई आग्रह गरेको हो।

निर्देशनालयका अनुसार शिक्षा मन्त्रालयले असार ९ गते जारी गरेको पत्र र त्यसका आधारमा विश्वविद्यालय अनुदान आयोगले असार १० गते दिएको निर्देशनअनुसार ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउनुपर्ने व्यवस्था गरिएको छ। साथै, ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता वैकल्पिक विद्यार्थी प्रतिनिधित्व संयन्त्र विकास गर्नुपर्ने उल्लेख गरिएको छ।

त्रिविले सोही निर्देशन कार्यान्वयन गरी प्रगति विवरण यथाशीघ्र निर्देशनालयमा पठाउन सबै आंगिक क्याम्पस प्रमुखलाई परिपत्र गरेको छ।

परिपत्रमा शिक्षा क्षेत्रमा बढ्दो दलीय हस्तक्षेप न्यूनीकरण गर्ने, विद्यार्थीको वास्तविक आवाजलाई संस्थागत रूपमा प्रतिनिधित्व गराउने तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले उक्त निर्णय कार्यान्वयनमा ल्याइएको उल्लेख गरिएको छ।

See More On

सुझावित समाचार