पहिलोपटक ४८ राष्ट्र सहभागी फिफा विश्वकप २०२६ मा शनिबार बिहान इजिप्ट र इरानको खेल सम्पन्न भएसँगै ६६ खेल पूरा भएका छन् । हालसमम विश्वकपमा १९६ गोल हुँदा औसतमा एक खेलमा २.९७ गोल भएका छन् । हालसम्म अर्जेन्टिनी कप्तान लियोनल मेसीले ५ गोल गर्दै उच्च गोलकर्ताको दौडमा शीर्ष स्थानमा छन् । कीर्तिमानी ४२ लाख २३ हजारले मैदानमै उपस्थिति भएर खेल हेरिरहेका छन् । विश्वकपमा ४८ राष्ट्र सहभागी हुँदा २७ टिमले नकआउटमा स्थान बनाइसकेका छन् । अब, पाँच राष्ट्रको टुंगो लाग्न बाँकी छ । आइतबारका खेलसँगै नकआउटमा स्थान बनाउने सबै टोलीको टुंगो लाग्नेछ ।
यी हुन् हालसम्म अन्तिम ३२ मा स्थान बनाएका टिम
मेक्सिको (समूह ए)
यसपटक सहआयोजक मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको थियो । टोली लगातार तीन खेलमा जित निकाल्न सफल हुँदै अन्तिम ३२ मा स्थान बनायो । दक्षिण कोरियामाथि १–० को जित निकाल्दै मेक्सिकोले समूहको शीर्ष स्थान सुरक्षित गरेको थियो । यसअघि उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले हराएको उसले अन्तिम खेलमा चेकियालाई ३–० ले हराएको हो ।
दक्षिण अफ्रिका (समूह ए)
दक्षिण अफ्रिका समूह ‘ए’बाट उपविजेता बन्दै नकआउट स्थान बनाएको हो । अन्तिम खेलमा दक्षिण कोरियाविरुद्ध १–० को अप्रत्याशित जित निकाल्दै दक्षिण अफ्रिकाले इतिहासमै पहिलोपटक विश्वकपको नकआउट चरणमा स्थान बनाएको हो । यसअघि टोली पहिलो खेलमा मेक्सिकोसँग २–० ले पराजित भएको थियो ।
स्विट्जरल्यान्ड (समूह बी)
प्रतियोगितामा अपराजित रहँदै सात अंकसहित स्विट्जरल्यान्ड समूह ‘बी’को विजेता बन्यो । अन्तिम खेलमा उसले सहआयोजक क्यानडालाई २–१ ले पराजित गरेको थियो । अन्य खेलमा उसले बोस्निया हर्जगोभिनालाई ४–१ ले हराउँदा कतारसँग भने १–१ को बराबरी खेलेको थियो ।
क्यानडा (समूह बी)
सहआयोजक क्यानाडा अन्तिम खेलमा स्विट्जरल्यान्डसँग २–१ ले पराजित भए पनि चार अंकसहित समूह ‘बी’बाट उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान बनायो । पहिलो खेलमा टोली बोस्नियासँग १–१ को बराबरी खेल्दा कतारलाई भने ६–० ले हराएको थियो ।
बोस्निया एन्ड हर्जगोभिना (समूह बी)
यो समूहमा बोस्निया एन्ड हर्जगोभिना भाग्यमानी टिम बन्यो । टोली तेस्रो स्थानमा रहेर पनि विस्वकपको नकआउटमा पुगेको हो । समूह ‘सी’मा टोलीले एक मात्रै जित कतारसँग ३–१ को निकालेको थियो । बोस्निया तेस्रो स्थानबाट उत्कृष्ट एकमा पर्दै नकआउट पुगेको हो ।
ब्राजिल (समूह सी)
पाँचपटकको च्याम्पियन पहिलो खेलमा मोरोक्कोसँग १–१ को बराबरीमा रोकिए पनि त्यसपछिका खेलमा लगातार जित निकाल्दै समूह विजेता बन्यो । उसले समान ७ अंक भए पनि मोरोक्कोलाई एक गोलले पछि पारेको हो । दोस्रो खेलमा हाइटीलाई ३–० तथा अन्तिम खेलमा स्कटल्यान्डलाई ३–० ले हराएको हो ।
मोरोक्को (समूह सी)
पहिलो खेलमा ब्राजिललाई १–१ को बराबरीमा रोकेपछि मोरक्कोले सनसनी मच्चायो । टोली दुई जित र एक बराबरीसहित सात जोडेर उपविजेता हुँदै अन्तिम ३२ मा स्थान बनाउन सफल भएको हो । मोरोक्कोले स्कटल्यान्डलाई १–० तथा हाइटीलाई ४–२ ले हराएको थियो ।
अमेरिका (समूह डी)
समूह ‘डी’बाट तीन टोली नकआउटमा स्थान बनाउँदा सहआयोजक अमेरिका तीनमध्ये दुई खेलमा जित निकाल्दै समूहको विजेता बन्यो । उसले अस्ट्रेलियामाथि २–० र पाराग्वेलाई ४–१ ले हराएको थियो । टर्कीसँग भने ३–२ ले पराजित भएको हो ।
अस्ट्रेलिया (समूह डी)
पहिलो खेलमा टर्कीविरुद्ध सनसनीपूर्ण २–० को जित निकाल्दै अस्ट्रेलियाले विश्वकपमा सानदार सुरु गरेको थियो । तर, दोस्रो खेलमा सहआयोजक अमेरिकासँग २–० ले चुक्यो । अन्तिम खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलियाले अन्तिम ३२ को स्थान पक्का गरेको थियो ।
पाराग्वे (समूह डी)
समूह ‘डी’बाट अमेरिका र अस्ट्रेलियाले नकआउट चरणमा स्थान बनाउँदा पाराग्वे भाग्यमानी बन्यो । उसको समान चार अंक भए पनि अस्ट्रेलियाभन्दा मुनि रहेको थियो । तर, पाराग्वे उत्कृष्ट तेस्रोमा स्थान बनाउँदै अन्तिम ३२ मा स्थान बनाउन सफल भएको छ । पाराग्वेले टर्कीलाई १–० ले हराउँदा अन्तिम खेलमा अस्ट्रेलियासँग गोलरहित बराबरी खेल्दै अंक खोसेको थियो । यसअघि टोली अमेरिकासँग ४–१ ले पराजित भएको थियो ।
जर्मनी (समूह ई)
लगातार दुई संस्करण समूह चरणबाट माथि बढ्न नसकेको जर्मनी यसपटक भने समूह ‘ई’को विजेता बन्यो । उसले तीनमध्ये दुई खेल जित्यो । आइभोरिकोस्टलाई २–१ ले हराएपछि जर्मनीले नकआउट यात्रा तय गरेको थियो । यसअघि उसले कुराकाओलाई ७–१ ले पराजित गर्दा इक्वेडरसँग भने अप्रत्याशित रूपमा २–१ ले पराजित भयो ।
इक्वेडर (समूह ई)
समूहको अन्तिम खेलमा जर्मनीलाई २–१ ले हराएपछि इक्वेडर उत्कृष्ट तेस्रो हुँदै नकआउट चरणमा स्थान बनाएको थियो । यसअघि टोली आइभरिकोस्टसँग १–० ले पराजित हुँदा दबाबमा आएको थियो । दोस्रो खेलमा भने टोलीले कुराकाओसँग एक अंक खोस्दै सम्भावना बनाएको हो । यो समूहबाट इक्वेडर उत्कृष्ट तेस्रो हुँदा समान ६ अंकका जर्मनी पहिलो र आइभोरिकोस्ट दोस्रो भएका थिए ।
नेदरल्यान्ड्स (समूह एफ)
अन्तिम खेलमा ट्युनिसियालाई ३–१ ले हराउँदा नेदरल्यान्ड्स सात अंकसहित समूह विजेता बन्यो । यसअघि टोलीले जापानसँग २–२ को बराबरी खेलेको थियो भने स्विडेनलाई ५–१ ले हराएको थियो । समूहमा नेदरल्यान्ड्स विजेता र जापान उपविजेता भए । स्विडेन भने उत्कृष्ट तीनमा पर्दै नकआउटमा स्थान बनायो ।
जापान (समूह एफ)
यो विश्वकपमा जापानले पहिलो खेलमै नेदरल्यान्ड्सविरुद्ध अप्रत्याशित रूपमा २–२ को बराबरी खेल्यो । दुईपटकसम्म नेदरल्यान्ड्सले अग्रता बनाए पनि जापानले अंक खोसेको थियो । दोस्रो खेलमा ट्युनिसियाविरुद्ध सानदार ४–० को जित र स्विडेनसँग १–१ को बराबरीपछि टिमले पाँच अंक जोड्दै उपविजेता बनेको हो ।
स्विडेन (समूह एफ)
पहिलो खेलमा ट्युनिसियाविरुद्ध ५–१ को सानदार जित निकाले पनि नकआउट पुग्न स्विडेनले निकै संघर्ष गर्नुपर्यो । दुर्भाग्यवश दोस्रो खेलमा नेदरल्यान्ड्स ५–१ ले नै पराजित भयो । तर, अन्तिम खेलमा जापानसँग १–१ को बराबरी खेल्दै अंक खोसेपछि स्विडेन भाग्यमानी बन्दै तेस्रो भएर नकआउटमा स्थान बनायो ।
बेल्जियम (समूह जी)
पहिलो खेलमा इजिप्टसँग १–१ को बराबरी खेलेपछि दबाबमा आएको बेल्जियम दोस्रो खेलमा पनि इरानसँग गोलरहित बराबरीमा रोकियो । यस्तो अवस्थामा टोलीको नकआउट सम्भावना कमजोर मानिएको थियो । तर, अन्तिम खेलमा न्युजिल्यान्डविरुद्ध सानदार ५–१ को जित निकाल्दै बेल्जियम समूह विजेता बन्दै नकआउटमा स्थान बनाएको छ ।
इजिप्ट (समूह जी)
तीनमध्ये एक खेलमा जित र दुईमा अंक बाँडेको इजिप्ट समूह जीको उपविजेता बन्दै नकआउटमा स्थान बनाएको छ । समान ५ अंक भएपछि इजिप्ट एक गोलले बेल्जियमसँग पछि परेको थियो । इजिप्टले पहिलो खेलमा बेल्जियम र अन्तिम खेलमा इरानसँग १–१ को बराबरी खेल्दा दोस्रो खेलमा न्युजिल्यान्डलाई ३–१ ले हराएको थियो ।
स्पेन (समूह एच)
सन् २०१० को विजेता स्पेन अपराजित रहँदै समूह एचको विजेता बनेको छ । पहिलो खेलमा अप्रत्याशित रूपमा केप भार्डेसँग गोलरहित बराबरीमा रोकिएको उसले बाँकी खेलमा साउदी अरेबियालाई ४–० तथा उरुग्वेलाई १–० ले हराएको थियो ।
केप भार्डे (समूह एच)
पहिलोपटक विश्वकप खेलिरहेको केप भार्डेले सानदार प्रदर्शन गर्दै इतिहास नै इतिहास कोरेको छ । उसले पहिलो सहभागितामै आफूलाई नकआउट चरणमा पुर्याउन सफल भयो । तीन खेलमा उसले बराबरी खेल्यो र मात्र तीन अंक जोडेको छ ।
फ्रान्स (समूह आई)
विश्वकपको उपाधि दाबेदार फ्रान्सले लगातार तीन खेलमा जित निकाल्दै समूह विजेता बनेको छ । उसले पहिलो खेलमा सेनेगललाई ३–१, इराकलाई ३–० तथा नर्वेलाई ४–१ ले हरायो । फ्रान्सको लगातार जितमा दुई प्रतिभाशाली स्ट्राइकर केलिएन एम्बाप्पे र औसमाने डेम्बेलेले समान चार गोल गरेका छन् ।
नर्वे (समूह आई)
२८ वर्षपछि विश्वकप खेलिरहेको नर्वे नकआउट चरणमा स्थान बनाउन सफल भयो । एर्लिङ हाल्यान्ड चम्किएपछि उसले पहिलो खेलमा सेनेगललाई ३–२ र इराकलाई ४–१ ले हराएको थियो । तर, अन्तिम खेलमा टोली फ्रान्ससँग चुक्यो । । दुई खेलमा चार गोल गरेको हाल्यान्ड अन्तिम खेलमा फ्रान्सविरुद्ध विश्राममा थिए ।
सेनेगल (समूह आई)
सेनेगल तीन खेलमा तीन अंक मात्रै जोडेर पनि उत्कृष्ट तेस्रो भएर नकआउटमा स्थान बनाएको छ । पहिलो खेलमै टोली फ्रान्ससँग ३–१ ले चुक्यो । दोस्रो खेलमा पनि नर्वेसँग ३–२ हार्यो । तर, तेस्रो खेलमा इराकलाई पाँच गोल गरेपछि सेनेगलको भाग्य चम्किएको थियो ।
अर्जेन्टिना (समूह जे)
पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अस्ट्रियामाथि २–० को जित निकाल्दै साबिक विजेता अर्जेन्टिना एक खेलअघि नै अन्तिम ३२ मा पुग्यो । कप्तान लियोनल मेसीले पाँच गोल गरेपछि अर्जेन्टिना सानदार लयमा छ ।
कोलम्बिया (समूह के)
दोस्रो खेलमा कंगोलाई १–० ले हराउँदै कोलम्बिया ६ अंक जोडेर अन्तिम ३२ मा पुग्यो । यसअघि टोलीले पहिलो खेलमा पहिलोपटक विश्वकप खेलिरहेको उज्वेकिस्तानलाई ३–१ ले पराजित गरेको थियो ।
पोर्चुगल (समूह के)
क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल पनि दुई खेलमा चार अंक जोड्दै नकआउट चरणमा स्थान बनाइसकेको छ । दुई खेल खेलेको कंगोले एक तथा उज्वेकिस्तानले अंक नजोडेपछि पोर्चुगलको सिधै नकआउटमा पुगेको हो ।
इंग्ल्यान्ड (समूह एल)
समूह एलमा दुईमध्ये एक खेल जितेरै इंग्ल्यान्ड नकआउट चरणमा स्थान बनाइसकेको छ । पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ ले हराउँदा घानासग भने गोलरहित बराबरी खेलेको थियो ।
घाना (समूह एल)
अफ्रिकन राष्ट्र घाना पनि दुई खेलमा अपराजित हरँदै समूह एलबाट नकआउटमा स्थान बनाइसकेको छ । टोलीले पहिलो खेलमा पानामालाई १–० ले हराउँदा दोस्रो खेलमा इंग्ल्यान्डसँग अंक खोसेको थियो ।