उदयपुरमा टिपर दुर्घटना हुँदा सातजना घाइते, चालक फरार

शनिबार, १३ असार, २०८३
डिजिटल संस्करण

 उदयपुरकाे कटारी नगरपालिका–१ पानीट्यांकीस्थित सिद्धिचरण लोकमार्गमा आज टर्निङ लिने क्रममा टिपर दुर्घटना हुँदा सातजना घाइते भएका छन्। खोक्साबाट मिर्चैयातर्फ जाँदै गरेको ना १ क ५५४९ नम्बरको टिपर अनियन्त्रित भई सडक किनारमा पल्टिएको जिल्ला प्रहरीले जनाएको छ।

दुर्घटनामा कटारी नगरपालिका–२ गुराँसेका ६० वर्षीय शेरबहादुर थापा, ५० वर्षीया सुनिता थापा, २३ वर्षीया जेनी श्रेष्ठ, ४८ वर्षीया सीता श्रेष्ठ, ३९ वर्षीया यशोदा खड्का, ४० वर्षीया कृजा थापा र ४० वर्षीय कुलबहादुर अधिकारी घाइते भएका छन्। घाइतेमध्ये शेरबहादुर थापा र सुनिता थापाको मिर्चैयास्थित मनकामना अस्पतालमा उपचार भइरहेको छ भने अन्य पाँचजनाको मिर्चैयास्थित विष्णु क्लिनिकमा उपचार भइरहेको छ। सबैको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनापछि टिपरचालक कटारी नगरपालिका–२, ददरियाका २३ वर्षीय राजेश दनुवार फरार रहेका छन्। उनको खोजी कार्य जारी छ। दुर्घटनाग्रस्त टिपर घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार