रास्वपाले नयाँ राजनीतिक द्वन्द्वको बिउ नरोपोस् : शंकर पोखरेल

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संघीयताको विरुद्धमा उभिएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत पोखरेलले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने दाबी गरेर जनताको मत जितेको रास्वपाले राष्ट्रिय अधिवेशनमार्फत आफूलाई संघीयताको विरुद्धमा उभ्याएको बताएका हुन्।

रास्वपाको राजनीतिक प्रतिवेदनमा उल्लेख भएका विषयवस्तुतर्फ लक्षित गर्दै पोखरेलले यस्तो टिप्पणी गरेका हुन्। आदिवासी जनजाति, मधेशी, दलित र अल्पसंख्यक समुदाय तथा पिछडिएको क्षेत्रको दशकौँ लामो आकांक्षा र संघर्षबाट आएको संघीयतालाई ऐतिहासिक संविधानसभाले संस्थागत गरेको बताउँदै उनले यस्ता गतिविधिविरुद्ध खबरदारी गर्न आह्वान गरेका छन्।

‘चुनावका वेला प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउने दाबी गरेर जनताको मत जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राष्ट्रिय अधिवेशनमार्फत संघीयताकै विरुद्धमा आफूलाई उभ्याउने काम गरेको छ। चुनावमा एउटा वाचा गर्ने र सत्तामा पुगेपछि ठिकविपरीत क्रियाकलाप अघि बढाउने सत्तारुढ दलको यो चरित्रले समाजमा नयाँ राजनीतिक द्वन्द्वको बिउ नरोपोस् भन्ने कुरामा सबै सचेत हुन जरुरी छ,’ पोखरेलले लेखेका छन्।

सुझावित समाचार