- क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, अल मतावापछि क्रोएसियाली कप्तान लुका मोड्रिचले राष्ट्रिय टोलीबाट दुई सय खेल पूरा गरे
क्रोएसियाली कप्तान लुका मोड्रिचले अन्तर्राष्ट्रिय फुटबलमा दुई सय खेल संख्या पूरा गरेका छन् । विश्व फुटबलमा यो उपलिब्ध हात पार्ने मोड्रिच चौथो खेलाडी हुन् । मोड्रिचले अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपअन्तर्गत समूह ‘एल’मा बुधबार बिहान पानामाविरुद्धको खेलमा आफ्नो दुई सय अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
क्रोएसियाका लागि उनले सन् २००६ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । दुई दशक लगातार क्रोएसियाली टोलीका प्रमुख खेलाडी बनेका उनले अन्तर्राष्ट्रिय करिअरमा २९ गोल गरेका छन् । यसपटक पनि क्रोएसियाले उनकै कप्तानीमा विश्वकप खेलिरहेको छ । पानामाथिको जितले क्रोएसियाले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा इंग्ल्यान्डसँग ४–२ ले पराजित भएको थियो । क्रोएसियाका लागि एक मात्र निर्णायक गोल अन्टे बुदिमिरले गरेका थिए ।
उनी खेलको दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । विश्व फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट सबैभन्दा बढी २३० खेल खेलेका छन् । त्यसपछि कुवेतका अल मतावा र अर्जेन्टिनी कप्तान लियोनल मेसीले संयुक्त रूपमा २०१ खेल खेलेका छन् । मेसीले पनि यसै विश्वकपमा आफ्नो दुई सय अन्तर्राष्ट्रिय खेल पूरा गरेका थिए । अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गरेका उनको दुई सय अन्तर्राष्ट्रिय खेल पूरा भएको थियो ।
उमेर समूहदेखि राष्ट्रिय टोलीसम्म
मोड्रिचले क्रोएसियाको उमेर समूहदेखि प्रतिनिधित्व गर्दै आइरहेका छन् । सन् २००६ मा उनले जापानविरुद्ध डेब्यु गरेका थिए । उनले सन् २००६ मै इटालीसँगको मैत्रीपूर्ण खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गरे । मोड्रिचको यो पाँचौँ विश्वकप यात्रा हो । फुटबल करिअरमा उनले क्रोएसियाबाट विभिन्न १० फरक मेजर अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।