विश्वकपमा सुपर समर्थकको क्रेज

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण
  • २३औँ संस्करणको विश्वकपमा फरक प्रस्तुतिका कारण कंगो, मेक्सिको, क्रोएसिया, नेदरल्यान्ड्स र इंग्ल्यान्डका समर्थक चर्चामा छन्

नवप्रवेशी डिआर कंगोले बुधबार कोलम्बियासँग समूह चरणको दोस्रो खेलमा प्रतिस्पर्धा गरेको थियो । कोलम्बिया १–० ले विजयी भयो । लगातार दोस्रो खेलमा अंक बटुल्ने योजनाका साथ मैदान छिरेको कंगोले दोस्रो हाफमा सामान्य गल्तीका कारण हार सामना गर्यो । तर, कंगोका खेलाडी तथा समर्थक खुसी छन् । दक्षिण अमेरिकाको बलियो टोली कोलम्बियालाई अन्तिम समयसम्म चुनौती दिइरहेको कंगोले वाहवाही कमायो । यसमा समर्थकहरू धेरै खुसी देखिए । रंगशालामा कंगोका समर्थक धेरै देखिन्थे । 

विश्वकपमा अन्तर्राष्ट्रिय मिडियालाई ध्यानाकर्षण गराउने क्रममा कंगोका मिचेल कुका बोलाडिना फरक रूपमा प्रस्तुत भए । उनले खेलको पूरै समय एउटा स्ट्यान्डमा उभिएर खेलाडीको समर्थन गरिरहे । उनलाई स्ट्यान्डमा उभिएर खेल हेर्न र हुटिङ गर्न सामान्यजस्तै लाग्छ । अफ्रिकन कपमा कंगो आउट नहुँदासम्म उनले स्ट्यान्डमै बसेर खेल हेरेका थिए । उनको त्यस प्रस्तुतिले निकै चर्चा पाएको थियो । अहिले विश्वकपमा यस्तै कार्यका कारण अन्तर्राष्ट्रिय मिडियाहरूले मिचेललाई सुपर फ्यानको ट्याग दिएका छन् ।

कंगोमा इबोला भाइरस फैलिँदा धेरै समर्थक आउन सकेका छैनन् । तर, उनले समग्र कंगोका समर्थकको प्रतिनिधित्व गरेको एजेन्सीहरूले जनाएका छन् । खेलमा कंगो १–० ले पछि पर्दा मिचेल केही निराश देखिएका थिए । तर, कोलम्बियाले थप गोल गर्न सकेन । कंगोले कोलम्बियालाई एक गोलमा मात्र रोक्दा उनी हर्षित देखिए । खेलपछि उनी भनिरहेका थिए, ‘लुमुम्बा, लुमुम्बा ।’ अफ्रिकन भाषामा यो शब्दको अर्थ बहादुरीपूर्ण प्रदर्शन हो । स्ट्यान्डमा रहँदा उनी चम्किलो रातो ज्याकेट र टाई लगाउँछन् । मिचेलले पहेँलो रङको टिसर्ट र निलो रङको ट्राउजर पनि लगाएका हुन्छन् । यो भनेको कंगोको राष्ट्रिय झन्डाको रङ हो । ‘कंगो संसारको जहाँ खेल्न गए पनि समर्थन गर्न पुग्छु,’ उनले भने, ‘यसपटकको विश्वकपमा कंगोलाई समर्थन गर्न फरक शैलीमा प्रस्तुत भएको हुँ ।’ 

मेक्सिकन हेक्टरको फरक शैली
सहआयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ । मेक्सिको खेल हुँदा हजारौँ समर्थक रंगशालामा पुग्छन् । अहिले घरमै आयोजना भइरहेको विश्वकपमा घरेलु टोलीको हौसला बढाउन समर्थकहरू रंगशालामै पुगेका छन् । सन् १९८६ पछि विश्वकप आयोजना गर्ने अवसर पाएको मेक्सिकोले पहिलो र दोस्रो चरणमा सानदार जित निकाल्दा हेक्टर चाभेजको चर्चा चुलिएको छ । उनी मेक्सिकोको सबैभन्दा पाका समर्थक हुन् । उनी अहिलेसम्म विश्वकपमा मेक्सिको समर्थन गर्दै विभिन्न ११ आयोजक राष्ट्रमा पुगेका छन् । मेक्सिकनहरूले उनलाई ‘कारामेलो’ भन्छन् । यसको अर्थ सुपर हिरो समर्थक हो । उनी पनि दर्शकदीर्घामा फरक शैलीमा प्रस्तुत हुन्छन् । उनी ४८ राष्ट्रकै झन्डाअंकित ठुलो क्याप र शरीर ढाक्ने पहिरन लगाएर रंगशाला छिर्नन् । उनको पहिरन मेक्सिको राष्ट्रिय झन्डाको रङको छ । सधैँ दायाँ हातमा विश्वकप ट्रफी बोकेका हेक्टरले एकपटक आफ्नो राष्ट्र च्याम्पियन भएको हेर्न चाहेको बताए । ‘विश्वकपमा मेक्सिको समर्थन गर्न विभिन्न ११ राष्ट्रमा पुगेँ । हजारौँ दर्शकका माझ आफूलाई फरक देखाउन यस्तो गरेको हुँ,’ उनले बिबिसीसँग भनेका छन्, ‘मेरो साथमा छोरा पनि छ । उसले पनि पाँचवटा विश्वकप हेरेको छ ।’ 

हट इभाना 
विश्वकपमा सुपर समर्थकको चर्चा भइरहँदा क्रोएसियाली मोडेल इभाना नोलको नाम छुट्याउन हुँदैन । उनी सन् २०१८ देखि विश्वकपमा छाइरहेकी छिन् । विश्वकपमा उनलाई हट समर्थकको ट्याग दिइएको छ । 

सन् २०१८ मा रसियाले आयोजना गरेको विश्वकपमा इभाना प्रायः अर्धनग्नमै देखिएकी थिइन् । रसियामा भएको विश्वकप आफ्नो देशले जिते निर्वस्त्र भएर खुसियाली मनाउने बताएर उनले चर्चा कमाइन् । विश्वकप फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित भयो । सन् २०२२ मा मुस्लिम राष्ट्र कतारले आयोजना गरेको विश्वकपमा उनले कुनै पनि नियम पालना गरिनन् । कतारले अर्धनग्न भएर रंगशालामा जान निषेध गरेको थियो । तर, आयोजकलाई चुनौती दिँदै उनी आपत्तिजनक पहिरनमा देखिइन् । अहिले अमेरिकामा चलिरहेको विश्वकपमा उनलाई सबैतिरबाट छुट दिइएको छ । क्रोएसियाले दुई खेल खेलिसक्दा उनले क्रोएसियाली झन्डा प्रतीक ‘ब्रा’ लगाएकी छिन् । उनले भनेकी छिन्, ‘म यस किसिमको व्यक्ति हुँ, जसलाई अरू व्यक्तिले के भन्छ वा हेर्छ मतलब छैन ।’ उनले कतारको तुलनामा अमेरिकामा आफूलाई सहज भएको बताइन् । 

See More On

सुझावित समाचार