राहदानी छपाइमा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दा दायरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार थप तीन कर्मचारीलाई नियन्त्रणमा लिएको खुलेको छ। राहदानी विभागका निर्देशक सोमेश थापा, विपिन प्रसाईं र राजाराम दाहाललाई नियन्त्रणमा लिएर मुद्दा दायर गरेको हो। यसअघि उनीहरू हाजिरी जमानीमा छुटेका थिए।
थापा विभागकै निर्देशक हुन् भने प्रसाईं कम्युटर इन्जिनियर हुन्। त्यस्तै, दाहाल परराष्ट्र मन्त्रालयका कानुनतर्फका उपचिव हुन्।
यसअघि आयोगले विभागका महानिर्देशक तीर्थराज अर्यालसहित निर्देशक सुनील केसी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मन कम्पनीका एजेन्ट मनिन्द्रकुमार मल्ललाई पक्राउ गरेको थियो । सोमबार थप तीन गरी सातजनालाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरिएको हो । बयान र थुनछेक आदेश नभएसम्म उनीहरू आयोगकै हिरासतमा हुनेछन्।
मुद्दाका १६ प्रतिवादीमध्ये अन्य नाैजना भने फरार छन्।
जसमा जर्मन कम्पनीका एजेन्ट सिद्धार्थ थापासहित चार जर्मन नागरिक तथा चार परराष्ट्रका कर्मचारी छन्। परराष्ट्रका कर्मचारीहरू भेषप्रसाद भुर्तेल, पुष्करराज नेपाल, शत्रुध्वन पोखरेल, रविन्द्र राजभण्डारीलाई फरार प्रतिवादी बनाइएको छ। उनीहरू विदेशस्थित नियोगमा कार्यरत थिए। मुद्दा दायर भएसँगै उनीहरू निलम्बनमा परेका छन्।
यस प्रकरणमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत कर्मचारीमाथि छुट्टै अनुसन्धान गर्ने निर्णय आयोगले गरेको छ।