एसियाली महारथी जापानले फिफा विश्वकप २०२६ मा पहिलो जित निकाल्दा चारपटकको च्याम्पियन जर्मनी भने नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा विश्वकपको एक हजारौँ खेलमा जापानले ट्युनिसियालाई ४–० ले हरायो । प्रतियोगितामा जापानको यो पहिलो जित हो । पहिलो खेलमा जापान नेदरल्यान्ड्ससँग २–२ को बराबरीमा रोकिएको थियो । अब, जापानले जुन २६ मा स्विडेनको सामना गर्दै छ ।
मेक्सिकोमा भएको खेलमा जापानले एकक्षीय प्रदर्शन गर्दै पहिलो तीन अंक जोडेको हो । जापानको जितमा आयासे उइदाले सानदार प्रदर्शन गरे । उनले दुई गोल गर्नुका साथै एक पास उपलब्ध गराएका थिए । त्यस्तै, दाइची कामदा र जुन्या इटोले समान एक गोल गरेका हुन् । जापानले पहिलो हाफमै दुई गोल गर्दै ट्युनिसियालाई दबाबमा राखेको थियो ।
खेलको चौथो मिनेटमै कामदाले जापानलाई अग्रता दिलाएका थिए । केइतो नाकामुराले बक्सभित्रबाट चलाखीपूर्ण रूपमा मिलाएको पासलाई कामदाले सहजै गोल गरेका थिए । उइदाले दोस्रो गोल ३१औँ मिनेटमा गरेका थिए । कोउ इताकुराले मिलाएको पासलाई उनले बक्सबाहिरबाट शक्तिशाली प्रहार गरे । जुन बलले सिधै जाली चुमेको थियो ।
तेस्रो गोल इटोले ६९औँ मिनेटमा गरेका हुन् । उइदाले मिलाएको पासमा इटोले सहजै गोल गरेका थिए । आयासेले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौथो गोल खेलको ८३औँ मिनेटमा गरेका थिए । दायाँ विंगबाट काइसु सानोले मिलाएको भली पासलाई उनले हेड गोल गरेका थिए । २७ वर्षीय स्ट्राइकरको हेडर ट्युनिसियाका दुई डिफेन्डर र गोलकिपरले रोक्न सकेनन् ।
जितपछि समूह ‘एफ’मा जापान र नेदरल्यान्ड्सले समान चार अंक जोडेका छन् । समान दुई खेलमा चार अंक भए पनि गोलअन्तरमा नेदरल्यान्ड्स पहिलो स्थानमा रह्यो । स्विडेनको तीन अंक छ । लगातार दोस्रो खेल हारेको ट्युनिसिया पुछारमा रह्याे । यो हारले ट्युनिसियाको नकआउट चरण लगभग समाप्त भएको छ । पहिलो खेलमा टोली स्विडेनसँग ५–१ ले पराजित भएको थियो । अब, अन्तिम दिन उसले नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ । यता, राति नै भएको खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ ले हराएको छ ।
जर्मनीको कमब्याक जित
स्ट्राइकर डेनिज उन्डभले दुई गोल गरेपछि जर्मनीले आइभाेरीकोस्टलाई २–१ ले हराएको हो । मध्यराति टोरन्टो रंगशालामा जर्मनीले अफ्रिकन टोली आइभाेरीकोस्टलाई हराउँदा दुवै गोल उन्डभले गरे ।
यो जितपछि जर्मनी अन्तिम ३२ मा छनोट भएको छ । यसअघि आयोजकद्वय मेक्सिको र अमेरिका दोस्रो चरणमा प्रवेश गरेका थिए । सन् २०१४ को च्याम्पियन जर्मनी पछिल्ला दुई संस्करण समूह चरणबाटै बाहिरिएको थियो ।
खेलको पहिलो हाफमा आइभाेरीकोस्टका कप्तान फ्रान्क केसीको अग्रता दिलाएका थिए । उन्डभ ६८औँ मिनेटमा बराबरी गोल गरेका हुन् । यसअघि उनलाई प्रशिक्षक नागेलस्म्यानले अट्याकिङ मिडफिल्डर जमल मुसियालाको स्थानमा मैदान प्रवेश गराएका थिए ।
खेलको इन्जुरी समयमा एन्डभले दोस्रो गोल गरेका हुन् । उनले डिफेन्सिभ मिडफिल्डर फेलिक्स एनमेकाको थ्रु पास सदुपयोग गरेका थिए । जितपछि जर्मनी दुई खेलमा ६ अंकसहित समूह ईको शीर्ष स्थानमा रह्याे । आइभाेरीकोस्टको ३ अंक रहँदा इक्वेडर र कुराकाओको समान एक अंक रहेको छ ।
बिहानै भएको इक्वेडर र कुराकाओबिचको खेल गोलरहित बराबरीमा सकियो । कुराकाओका ३७ वर्षीय गोलकिपर इलोय रुमले खेलमा १५ प्रहार बचाउँदै क्लिन सिट राखेका थिए । जुन विश्वकपकै कीर्तिमान बनेको छ ।