विराटनगरमा बौद्ध, हिन्दु र किराँत समुदायको संयुक्त्त धर्मसभा आयोजना भएको छ। सनातन धर्म सम्मेलनको ब्यानरमा विराटनगरमा शनिबार हिन्दु, बौद्ध तथा किराँत समुदायको संयुक्त धर्मसभा आयोजना भएको हो। सभामा तीनवटै धर्मका धार्मिक गुरुसहित साधुसन्त, बुद्धिजीवी र आस्थावानहरू सयौँको संख्यामा सभामा सहभागी छन्।
संयुक्त धर्मसभामा हिन्दु धर्मगुरु स्वामी अवधेशानन्द गिरी, बौद्ध धर्मगुरु फुपु छेम्बे शेर्पा र किराँत धर्मगुरु आत्मानन्द लिङ्देन मुख्य अतिथिका रूपमा सहभागी छन्। धार्मिक आस्था, सांस्कृतिक एकता र आध्यात्मिक चेतनाको सन्देशका लागि एकदिने संयुक्त सनातन धर्मसभा आयोजना गरेको संयोजक डा. भेषप्रसाद धमलाले बताए।
सनातन सभ्यता, संस्कृति, मूल्य र मानव कल्याणका विषयमा केन्द्रित सम्मेलनले धार्मिक सद्भाव, सामाजिक एकता र आध्यात्मिक जागरणको सशक्त सन्देश प्रवाह गर्ने उद्देश्य रहेको आयोजकले जानकारी गराएका छन्।
संयुक्त धार्मिक सभालाई विराटनगरका उद्योगी व्यपारीहरूले पनि भरपुर सहयोग गरेका छन्। विराटनगरका प्रसिद्ध उद्योग तथा संविधानसभाका सदस्य पवनकुमार सारडासहित समाजसेवी बेनिगोपाल मुन्दडा, उद्योगीहरू महेश जाजु, प्रकाश मुन्दडा,अनिल साहलगायत सम्मेलनको आयोजक समितिमा सक्रिय छन्।